८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

प्राणायाम भनेको के हो ? यस्ता छन् प्राणायामका फाइदा

 बुधबार, असार २२ २०७९  

काठमाडौं । सास नियन्त्रण गर्ने प्रक्रियालाई प्राणायाम भनिन्छ । प्राणायाम दुई शब्द प्राण र आयाम मिलेर बनेको हो । प्राणको अर्थ महत्वपूर्ण ऊर्जा वा जीवन शक्ति हुन्छ ।

‘प्राणायामले उमेर र आयुलाई मात्रै सन्तुलित र संरक्षण नगरी शारीरिक र मानसिक क्षमतामा समेत वृद्धि गराउँछ । प्राणायामले एकाग्रता, स्मरण शक्ति बढाउनुका साथै रोग लाग्नबाट बचाउन समेत महत्वपूर्ण भूमिका खेल्छ ।’

प्राणायाममा श्वासको गति बढाउने, घटाउने, भित्र लिने, बाहिर फाल्ने र रोक्ने गरिन्छ । यो विशुद्ध श्वासको गति मिलाउने प्रक्रिया हो । प्राणायामले तनाव, अस्वस्थतालाई कम गरेर मन स्थिर बनाउनुका साथै दृढ इच्छाशक्ति जगाउने काम गर्छ ।

प्राणायाम जोसुकैले पनि गर्न सक्छन् । तर जटिल शल्यक्रिया गरेका र दीर्घरोगीले भने प्राणायाम गर्दा केही कुरामा ध्यान पु¥याउनुपर्छ । यस्ता मान्छेले लामो समयसम्म श्वास बन्द गर्दा समस्या आउन सक्छ । मानिसले आफ्नो क्षमता र आवश्यकता हेरेर प्राणायाम गर्न सक्छन् ।

बिहान घाम नझुल्किंदै गरेको प्राणायाम सबैभन्दा उपयुक्त हुन्छ । हरेक दिन बिहान चार बजेदेखि ६ बजेसम्म गरेको प्राणायाम स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । प्राणायामका ४० बढी प्रकार छन् । जसमा मुख्यतया प्रचलनमा रहेका नाडी शोधन, भ्रस्तिका, भ्रामरी, कपालभाती, उज्जायी, अग्निसार र उद्धित रहेका छन् ।

स्वामी विवेकानन्दले ‘एक स्वस्थ शरीर एक स्वस्थ मनको पुर्वापेक्षा हो,’ भनेका छन् । स्वस्थ शरीरका लागि मन स्वस्थ हुनु जरुरी छ । प्राणायाम गर्न मन स्थिर हुनुका साथै तन र मन दुवै सन्तुलित र स्वस्थ राख्नका लागि गरिन्छ ।

प्राणायामको नियम

-प्राणायाम बिहानको समयमा गर्नु उपयुक्त हुन्छ । यो ताजा हावा र ऊर्जाका माध्यमबाट तन मनमा ऊर्जा भर्ने समय हो । प्राणायाम गर्नुभन्दा पहिले स्नान गर्नुपर्छ । स्नान गर्दा तनमन हलुका हुन्छ ।

-प्राणायाम गर्ने स्थानमा पर्याप्त हावा र प्रकाश हुनुपर्छ । बन्द कोठामा प्राणायाम गर्दा झ्याल ढोका खुला राख्नुपर्छ । बन्द कोठामा प्राणायाम गर्दा चक्कर आउन सक्छ । साथै स्थान शान्त र एकान्त हुनुपर्छ ।

-भुईंमा चटाई वा योगा म्याट राखेर प्राणायाम गर्न सकिन्छ । यो पद्मासन, सुखासन, सिद्धासन र वज्रासन जुनसुकै आसनमा पनि गर्न सकिन्छ । प्राणायाम गर्दा कुनै समस्या देखिएमा भुईंमा केही समय भुईंमा बस्न सकिन्छ ।

-प्राणायाम गर्दा आँखा बन्द गर्नुपर्छ । नजरलाई आफ्नो नाकमा केन्द्रित गरेर गरेको प्राणायाम निकै फाइदाजनक मानिन्छ ।

-प्राणायाम गर्दा शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्य समेत स्वस्थ हुनुपर्छ । मनमा कुनै व्यभिचार र अनावश्यक विचार आउनु हुँदैन । यदि मन विचलित र कहीं जान केही गर्न हतार भएको दिन प्राणायाम नगर्नु राम्रो हुन्छ ।

-सुरुवाती दिनमा दिनको दुई मिनेट बढी प्राणायाम गर्नु हुँदैन । तर बानी परेपछि दैनिक समय बढाउँदै लैजानुपर्छ ।

-प्राणायाम सकेसम्म दैनिक गर्नुपर्छ । यसले शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यलाई समेत मजबुत बनाउने काम गर्छ ।

प्राणायामका फाइदा

-प्राणायामले तनाव, अस्वस्थता र भक्भकाउने समस्याबाट मुक्ति दिलाउँछ ।

-प्राणायामका माध्यमबाट अवसादको उपचार गर्न सकिन्छ ।

-प्राणायामबाट मन स्थिर र दृढ विचारको विकास हुन्छ ।

-निरन्तर प्राणायाम गर्दा आयु बढ्छ ।

-शरीरमा प्राण शक्ति बढाउँछ ।

-शरीरका कुनै नसा बन्द भएमा प्राणायामले खोल्न सहयोग गर्छ ।

-यसले तनमन र शरीरको तालमेल मिलाउने काम गर्छ ।

प्रतिक्रिया सबै