नेपाल क्यानडासँग ८३ रनले पराजित

काठमाडौं । घरेलु टोली क्यानडाविरुद्धको दोस्रो एक दिवसीयमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको छ ।
किङ सिटी स्टेडियममा बुधबार राति भएको खेलमा क्यानडाले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रनमा अलआउट भयो ।
नेपालका लागि देव खनालले सर्वाधिक २६ र पवन सर्राफले १४ रन बनाए । विनोद भण्डारी, बसिर अहमेद र आदिल आलम समान १३ रन जोडे ।
क्यानडाका अमर खालीद, सलमान नजर,रोमेल साहजाद, साद बिन जफर र हर्ष थाकेरले २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो ।
नेपालका कप्तान सन्दीप लामिछानेले तीन, दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । नेपाल र क्यानडाविरुद्धको पहिलो एक दिवसीय भने वर्षाका कारण रद्द भएको थियो ।
लिग टू को तयारीका लागि नेपालले क्यानडा भ्रमण गरेको हो । तर, क्यानडासँगको दुई खेलको शृङ्खला नेपालले १.० ले गुमायो ।