११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

राउटे युवतीलाई यौन दुर्व्यवहार गर्ने यूवालाई जरिवानासहित सात वर्ष कैद

 शुक्रबार, असार २४ २०७९  

काठमाडौं । राउटे समुदायका एक युवतीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा सुर्खेत जिल्ला अदालतले दुई जनालाई सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको छ ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका–९ का चौमन घर्ती मगर र भुपेन्द्र बुढा मगरलाई सातरसात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो ।

जरिवाना अनुसरा उनीहरूले पीडित कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्ने छ । त्यस्तै होटल सञ्चालक मनबहादुर पुनलाई पनि ३ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको छ । उनले ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए । जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।

गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भूपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको थियो । मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन हिंसा भएको थियो ।

ती यूवाहरुले राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडियो बनाई सामाजिक सञ्जालमा फैलाएका थिए । भिडियो भाइरल भएपछि प्रहरीले तीनैजनालाई २०७८ जेठ २३ गते प्रक्राउ गरेको थियो ।

यो घटना हुँदा राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बसिरहेका थिए । बाहिरी समाजबाट टाढा, जंगलका कुना कन्दरामा जीवनयापन गर्दै आएको अल्पसंख्यक राउटे समुदायको आफ्नो रीति, परम्परा र संस्कृतिमाथिकै हमलाका रुपमा यो घटनालाई लिइएको थियो ।

प्रतिक्रिया सबै