८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

काठमाडौं उपत्यकामा २७ जनामा हैजा संक्रमण

 शनिबार, असार २५ २०७९  

काठमाडौं । उपत्यकामा अहिलेसम्म २७ जनामा हैजा संक्रमण पुष्टि भएको छ । बिहीवार तीन जनामा हैजा पुष्टि भएकोमा हिजो थप चार जनामा हैजा देखिएको हो ।

योसहित काठमाडौं उपत्यकामा हैजा पुष्टि हुनेको सङ्ख्या २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक काठमाडौं कागेश्वरी मनहरा–६ का तीन र ललितपुर महानगरपालिकाको हरिसिद्धिका एक जनामा हैजा देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दासका अनुसार पछिल्ला दिनमा दैनिक रूपमा हैजाका बिरामी पुष्टि हुँदै गएको र थप सावधानी अपनाउनुपर्ने देखिएको
छ । यसअघि हैजा पुष्टि भएका व्यक्तिलाई १० दिनसम्म अस्पताल भर्ना गरी उपचारपछि डिस्चार्ज गरिएको थियो ।

परीक्षण नगराएका अरू व्यक्तिलाई पनि हैजा हुनसक्ने भएकाले सचेत रहन डाक्टरको सुझाव छ । खानपान र सरसफाइमा ध्यान नदिए प्रकोपकै रुपमा फैलने भन्दै सचेत रहन समेत आग्रह गरिएको छ । भिब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा दूषित पानी वा खाद्यवस्तुबाट सर्ने गर्छ ।

सङ्क्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षण देखिन्छ । तारन्तार चौलानी जस्तो सेतो पानीसहित दिसा लाग्ने, वान्ता हुने र थकाइ महसुस हुने हैजाका लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ घरमै प्राथमिक उपचार सुरु गरी तुरुन्त अस्पताल जान पनि डाक्टरको सुझाव छ ।

डाक्टरका सल्लाह अनुसार प्राथमिक उपचारका क्रममा घरमै जीवनजल र झोलिलो नुनिलो खानेकुरा खान सकिन्छ । उमालेको वा शुद्धीकरण गरिएको पानी पिउन, स्वस्थ खानेकुरा खान र दिसा गरेपछि र खाना खानुअघि राम्रोसँग साबुन पानीले हात धुनु पर्ने हुन्छ ।

प्रतिक्रिया सबै