११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

फोनिजले तीन महिने ‘सुदृढीकरण अभियान’ सञ्चालन गर्ने

 शनिबार, असार २५ २०७९  

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले तीन महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार फोनिजको सम्पन्न संघीय समितिको तेस्रो पूर्ण बैठकले साउन १ गतेदेखि असोज २७ गतेसम्म अभियान चलाउने निर्णय गरेको हो ।

अभियान अवधिमा फोनिजको जिल्ला र विदेश शाखा, प्रादेशिक समितिहरुको बैठक सञ्चालन, वार्षिक क्यालेण्डर निर्माण, प्रशिक्षणलगायत कार्य गरिने महासचिव मिलन लिम्बूबाट प्रस्तुत कार्ययोजनामा उल्लेख छ ।

फोनिजले तीन महिने अभियानकैबीच आफ्ना सदस्यहरुको अभिलेखलाई डिजिटलाइज गर्ने पनि जनाएको छ । अब सदस्यताको लागि अनलाइन प्रणालीमार्फत आवेदन दिने र अनलइनबाटै सदस्यता स्वीकृतिलगायत प्रक्रिया सम्पन्न हुने छ ।

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै कायम गराउन फोनिजले अभियानकै क्रममा नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रमा ज्ञापनपत्र बुझाउने, संघको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रदेश सरकारको सञ्चार हेर्ने मन्त्रालयहरुबाट समेत सरकारलाई ज्ञापनपत्र बुझाउने जनाएको छ ।

त्यसैगरी अभियानकै क्रममा फोनिजले नेपाल आदिवासी जनजाति महासंघलगायत विभिन्न आदिवासी जनजातिजन्य संघसंस्थाहरुसँग अन्तरसम्बन्ध सुधारका लागि विभिन्न चरणमा अन्तरक्रिया र छलफल गर्ने निर्णय गरेको छ । बैठकले असोज २८ र २९ गते फोनिजको नीति तथा विधान सम्मेलन गर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया सबै