९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

चिनियाँ कम्युनिस्ट नेता लिउले भने- ‘नेपालमा हामी हस्तक्षेप गर्दैनौँ, अरुले पनि नगरुन्’

 सोमवार, असार २७ २०७९  

काठमाडौं । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरु शक्तिले पनि हस्तक्षेप नगरुन् भन्ने चाहेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारमा आज भएको भेटवार्तामा सो कुरा राखेका हुन् ।

उक्त भेटवार्तामा सहभागी माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन, अरु शक्तिले पनि हस्तक्षेप नगरुन् भन्ने चाहेको कुरा लिउले राखेको बताए । लिउसहितको ७ सदस्यीय प्रतिनिधिमण्डलले प्रचण्डलाई खुमलटार निवासमै पुगेर सोमबार अपरान्ह ४ बजेदेखि ६ बजेसम्म २ घण्टा लामो भेट गरेको थियो ।

‘चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन’, लिउले प्रचण्डसँगको भनाइ उद्धृत गर्दै पुनले भने, ‘अरु शक्तिले पनि हस्तक्षेप नगरुन् भन्ने चाहन्छौँ ।’ जवाफमा प्रचण्डले नेपाल चीनसँग व्यापार घाटामा रहेको बताउँदै त्यसलाई घटाउन र ट्रान्स हिमालय कनेक्टिभिटी नेटवर्क विकास गर्नुपर्नेमा जोड दिएको पुनले बताए ।

लिउले प्रचण्डसँग मुख्य चार कुरा गरेको नेता पुनको भनाई छ । पहिलो, छिमेकीलाई प्राथमिकता दिएर पहिलो भ्रमण नेपाल गरेको, दोस्रो, माओवादी, एमाले, काँग्रेससँग पार्टी टु पार्टी सम्बन्ध राम्रो बनाउने र दुई देशको सम्बन्ध राम्रो बनाउन यो भ्रमण गरेको तेस्रो, नेपालमा लगानी विस्तार गर्न चीन तयार छ। त्यसका लागि बीआरआई अगाडि बढाउन चाहन्छौँ । र, चौथो चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन, अरु शक्तिले पनि हस्तक्षेप नगरुन् भन्ने चाहन्छौँ । जवाफमा प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीको आगामी महाधिवेशन सफलताको शुभकामना दिएका छन् ।

भेटमा नेपाल एक चीन नीतिको पक्षमा रहेको, नेपाल र चीनबीच सम्बन्ध थप सुदृढ गर्न चाहेको प्रचण्डले बताएका छन् । चीनले नेपाललाई भूकम्प र कोभिड महामारी नियन्त्रणमा गरेको सहयोगका लागि प्रचण्डले धन्यवाद पनि दिए । ‘नेपाल चीनसँग व्यापार घाटामा छ, त्यो घटाउनुपर्छ। ट्रान्स हिमालय कनेक्टिभिटी नेटवर्क विकास गर्नुपर्छ,’ लिउसँग प्रचण्डले भने । भेटमा अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ र पम्फा भुसाल सहभागी थिए ।

प्रतिक्रिया सबै