८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

साहित्यका माध्यमबाट ‘सडक सुरक्षा’ ट्राफिक जनचेतना कार्यक्रम

 बुधबार, साउन ४ २०७९  

काठमाडौं । मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १० औं वार्षिकोत्सवको अवसरमा आयोजित साहित्यका माध्यमबाट सडक सुरक्षासम्बन्धी ट्राफिक जनचेतना प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमका प्रमुख अतिथि कुलपति गंगा प्रसाद उप्रेतीले शान्ति सु-व्यवस्था लगायत बढ्दै गएको सडक सुरक्षामा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

ट्राफिक प्रहरीले सडक सुरक्षालाई अझ प्रभावकारी बनाउनका लागि साहित्य समाज, विद्यार्थी, युवावर्ग लगायत हरेक समुदायसँग जनचेतनामूलक अन्तरक्रिया कार्यक्रमलाई अझ प्रभावकारी रुपमा संचालन गर्नुपर्ने बताए । ट्राफिक प्रहरीले संचालन गर्ने हरेक कार्यक्रमलाई प्रवर्धन र सहयोग गर्न नेपाल प्रज्ञा प्रतिष्ठान सदैव तयार रहेको उनको भनाई छ ।

त्यस्तै, मेट्रो ट्राफिक एफएम व्यवस्थापन समितिका अध्यक्ष तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले सामाजका हरेक वर्गसम्म सडक सुरक्षालाई जोड्न साहित्यले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताईन् । आफ्नो रचनामा ट्राफिक नियम सम्बन्धी सचेतना फैलाउने विषय राख्न साहित्यकारहरूलाई उनले आग्रह पनि गरिन् ।

कार्यक्रममा कविहरु डा. कृष्णहरि बराल, डा. रजनी ढकाल, डा. साधना प्रतिक्षा, धीरेन्द्र प्रेमर्षि र भीष्म उप्रेती लगायतले आफ्नो रचना वाचन गरेका थिए । कार्यक्रममा साहित्यमा ट्राफिक चेतनाका कुरा, साहित्यमा सुरक्षाका कुरा, साहित्य, सडक, समाज र सुरक्षाका कुरा, साहित्यका आँखामा ट्राफिक प्रहरी लगायतका विषयमा अन्तरक्रिया समेत भएको थियो ।

यस्तै, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले मन्तव्य राखेका थिए भने मेट्रो ट्राफिक एफएमका स्टेशन म्यानेजर प्रहरी नायव उपरीक्षक जयशंकर शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय समेतका प्रहरी अधिकृतहरू, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, संचारकर्मी लगायत साहित्य क्षेत्रका आमन्त्रित व्यक्तित्वहरू समेतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया सबै