zoom cloud meeting pc online zoom jquery free download zoom app download. zoom zoom hack download windows zoom logo download zoom app windows 11 s mode
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

ऐतिहासिक-पुरातात्विक प्रमाणले भन्छ : एक नम्बर प्रदेशको नाम ‘किरात’ हो !

कौशल चेम्जोङ, बरिष्ठ पत्रकार तथा लेखक
 बुधबार, साउन ४ २०७९  

पुनर्संरचित संघीय नेपालका सात प्रादेशिक इकाईहरुले नम्बरदेखि आफ्नो विशिष्ट पहिचानका आधारमा नामकरण गर्ने काम अझै सकिएको छैन । ६ प्रादेशिक राज्यहरुले नामकरण गरे पनि १ नम्बर प्रदेश भने अझैं अन्यौलमा छ । १ नम्बर प्रदेशका सभासदहरुलाई टुङ्गोमा पुग्न निकै सकस परेको छ । पाँच वर्षमा नाम राख्न नसक्ने कंलक बोक्ने सम्भावना बढेको बेला चर्चामा आएका किरात, सगरमाथा, कोशी, सप्तकोशी, किरात लिम्बूवान आदि नामहरु देखिन्छन् । एकल पहिचान वा बहु पहिचान या अरु कुनै भाष्यका आधारमा नाम राख्ने प्रयत्न भएको छ ।

तर बहुसंख्यक वासिन्दाहरुको भने पहिचानका आधारमा एकल होस वा बहु माग जिउँदो बनेको छ । यतिबेला एकअर्काप्रति अनेकन लाञ्छना लगाउँदै तित्तता बढाउने सम्भावना पनि बढ्दै गएको छ । यस्तो बेला जनप्रतिनिधिहरुले इमान्दारितापूर्वक आग्रह र पूर्वाग्रह नराखिकन प्रदेश नामकरणको लागि जुट्नु आवश्यक छ । बहुमत वा अल्पमतका आधारमा भन्दा पनि साझा धारणा बनाउँदा सबैभन्दा उत्तम हुन्छ । किनभने एकमत हुन सकेन भने त्यसले पुराना तुसहरुलाई नकारात्मक ऊर्जाको रुपमा सञ्चार गर्ने खतरा हाम्रो सामु छ । तसर्थ प्रदेश नामकरण गर्दा निर्जिव नामलाई राख्नु भन्दा पहिचान दिने नामलाई नैं अघि सार्नु श्रेयस्कर हुन्छ । किनकि भावनात्मक रुपमा जुन कुरा स्वीकार हुँदैन्, कालान्तरमा त्यसले द्वन्द्वलाई मलजल गर्छ । तसर्थ समय छँदै ध्यान दिन आवश्यक छ ।

पहिचानवादीले देश विखण्डन चाहेका होइन्, देशप्रति अपनत्व दर्शाउन चाहेका हुन भन्ने कुरा पहिचानविरोधीहरुले बुझ्न आवश्यक छ । यो बुझ्ने वित्तिक्कै ९९ प्रतिशत समस्या हल हुन्छ । जवर्जस्त रुपमा एक भाषा–एक भेष र एक देशको राग मात्रै अलाप्ने र भविष्यमा खडा हुन सक्ने समस्याहरुलाई आंकलन गर्न नसक्ने हो भने देशको भविष्य डामाडोल हुन सक्छ । यसले विद्वेष फैलाउँछ, वितृष्णा पैदा गर्छ, विद्रोह र अशान्ति पैदा गर्छ । जुन नेपाल र नेपालीको लागि हितकर हुँदैन । किनभने नेपाल भनेको बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक देश हो । यो देश मेरो हो भन्ने भावना जागृत गराउन आवश्यक छ । राज्य सत्ता र शक्तिको आडमा मात्रै गर्ने निर्णयले फलदायी हुँदैन् । तसर्थ जनभावनाको पनि कदर गर्न आवश्यक छ ।

अहिले प्रस्तावित नभएका तर चर्चामा ल्याएका नामहरुमध्ये ऐतिहासिक आधारमा नामकरण भनिएको किरात प्रदेशबारे यस आलेखमा चर्चा गर्न आवश्यव ठान्छु । पहिलो कुरा त किरात कुनै खास जाति होइन भन्ने कुरा सबैले दिमागमा राख्नु आवश्यक छ । ऐतिहासिक ग्रन्थहरुको आधारमा किरात एउटा भूगोल हो, संस्कृति र सभ्यता हो भन्ने सत्य कुरालाई स्वीकार्न सक्नु पर्छ । यो तथ्यलाई धेरै अध्ययनले प्रमाणित गरेको छ । स्वदेशी तथा विदेशी सबै खाले इतिहासकार, अन्वेषक र अध्येताहरु यो कुरासँग सहमत छन् । महाभारतर रामायण जस्तो स्मृतिग्रन्थको आधारमा १ नम्बर प्रदेशलाई किरात प्रदेश नामकरण गर्न सकिन्छ । महाभारतको सभापर्व (१४।२०) मा बङ्ग, पुण्ड्र किरातेषु राजा बलसमन्वितः पौण्ड्र वासुदेवेत्ति योऽसौ लोकेऽविमिश्रुतः अर्थात् किरात राजा बलीको अधीनतामा बङ्ग, पुण्ड्र जस्ता मगध देश रहेको देखिन्छ । पूर्वी नेपालको धेरै जसो भाग बङ्ग (बङ्गाल), पुण्ड्र (पूर्णिया) र विराटनगर (मत्स्य देश) अन्तर्गत पर्दथे । राजा विराटलाई किरात राजा मानिन्छ । त्यसैले विराट राज्यलाई पनि किरात देश भनिन्थ्यो ।

महाभारतकैं अर्को प्रसँगमा भीमले विदेह राज्य उत्तर रहेको सात किरात देशलाई जितेको पाइन्छ । तसर्थ सात किरात देश पूर्वी नेपाल हो भन्ने कुरा अर्थ गहिरिने हो भने किरात शब्दले कुनै एक खास जातीलाई नकार्दै भूगोल र सभ्यतालाई संकेत गर्दछ । किनभने यस भूगोलमा बस्ने सबैलाई किरात भनिएको छ । महाभारतकालीन ३६५ जाति वा राष्ट्रका भूगोलको रेखाकंन गर्ने हो भने प्रस्ट छ यो किरात भूमि हो । यसैमा कसैले पनि दुई मत राख्न सक्दैनन् । त्यसैगरी अर्को स्मृतिग्रन्थ रामायणमा पनि वालकाण्डले पनि अहिले चर्चामा रहेको क्षेत्रलाई स्पष्ट रुपमा किरात प्रदेश हो भनेको पाइन्छ । किनभने यो प्रदेशमा ऋषि कौशिक (विश्वामित्र) तपको लागि आएका छन् ।

उनले त्यसबेला यस भूमिलाई म्लेच्छ भूमिका रुपमा भिल्ल किरात सभ्यता र संस्कार भएको भूमिका रुपमा व्याख्या गरेका छन । जुन बेला अहिलेको कोसीलाई खुसी भन्ने चलन थियो । खुसी आजपर्यन्त कोसीको पर्यायवाची किरात शब्द हो भनेर बुझ्नु पर्छ । ऋषि कौशिकको आगमनपछि आर्यकृत हुँदै खुसी कोसीमा रुपान्तर भएको देखिन्छ । अहिले पनि व्यक्तिको नामबाट कतिपय टोल, गाउँ वा सहरको नाम राख्ने चलन छ । व्यक्तिको काम वा व्यक्तित्वको सम्झना गर्दै कुशिकबाट कौशिक हुँदै कोसी भएको दाबी गर्दा त्यसभन्दा अघिदेखि बसोबास गर्दै आएकाहरुले के सम्झने ? के अपनत्व लिने भन्ने गम्भीर प्रश्न खडा हुन सक्छ ।

तसर्थ ऐतिहासिक ग्रन्थहरुको आधार मान्दा पनि प्रदेशलाई कोसी होइन किरात भन्दा अलिक न्यायोचित हुन्छ भन्न सकिन्छ । ख्यातिप्राप्त फ्रान्सेली विद्वान सिल्भाँ लेभी ‘नेपाल हिन्दू अधिराज्यको इतिहास (जुन २००८ः८२) ’ लेख्छन, ‘गङ्गाजीको मुहानदेखि, हिमालयको समथर भागका छिमेकी मुलुकको सिमानासम्मका सबै किराँतीहरु भए । पछि किराँतीहरु पूर्वी नेपालको पहाडी भागमा मात्र सिमित हुन पुगे ।’ हो, यो भूगोलमा बस्ने आर्य हुन कि अनार्य हुन सबै किराती हुन् भन्ने कुरा आत्मसाथ गर्न आवश्यक छ ।

किनभने किरात कुनै जात विशेष होइन, भूगोल र सभ्यता हो भन्ने कुरामा इतिहास शिरोमणि बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली, योगी नरहरिनथा, ज्ञानमणि नेपालदेखि कानूनविद् युवराज सङ्ग्रौला, साहित्यकार चेतनाथ धमलालगात लाखौं सहमति राख्छन् । पुरातात्विक प्रमाण, ऐतिहासिक दस्तावेजहरुले पनि यसैलाई प्रमाणित गर्छन । ग्रीक तथा रोमन ऐतिहासिक आलेखहरुमा यस क्षेत्रका वासिन्दाहरुलाई किराडोस वा किर्राडाई अर्थात् किरात भनेको पाएको छ ।

ग्रीसेलीलगायतका विदेशी अभिलेखहरुले यस क्षेत्रमा बसोबास गर्ने सबैलाई किरात भनेको कुरा पुष्टि हुन्छ । तसर्थ किरात शब्दलाई जातीय पगर घुसाएर संकुचन गर्न आवश्यक छैन् । यो कुरा आफैप्रति धोका हो भनेर बुझ्न आवश्यक छ । अर्का विद्वान् सुनितिकुमार चटर्जी (किरात जनकीर्ति १९९८ : ३६–३७) लेख्छन, ‘ईसापूर्व ५०० देखि इस्वी सन् ४०० सम्म, जब महाभारत र रामायण जस्ता ग्रन्थहरुले आकार लिदैं थिए, विशेष गरी ईसापूर्वका शताब्दीहरुमा, तिनिहरु हिमालयको दक्षिणी भूभाग र सम्पूर्ण उत्तर पूर्वी भारत, नेपालसँग जोडिएका उत्तर बिहार, गंगाको उत्तर, बंगालको ठूलो भूभाग र आसाम (जुन पद्मा वा पड्दा (नदी हुँदै समुन्द्रमा मिसिन्छ ) ती खासगरी पूर्वी नेपाल र लौहित्य वा ब्रम्हपुत्र उपत्यकासँग जोडिएका थिए ।’

अर्थात् अहिलेको एक नम्बर प्रदेशमा बस्ने सबैलाई किरातको रुपमा पहिचान गरिन्थ्यो । यो ऐतिहासिक तथा पुरातात्विक पहिचानका आधारहरुलाई काट्न सक्ने ल्याकत कसैसँग छैन् । कोदो तर्क गर्नेहरु वहस र छलफलका महाभारत र रामायण अनि इन्डिका जस्ता ऐतिहासिक ग्रन्थ लिएर छलफलमा आउन र सावित गरुन किरात होइन अरु कुनै नाम थियो भनेर । होइन भने कोदो तर्क गर्नुको कुनै तुक छैन । र, अझैं पनि कतिपय भन्छन् किरात जात हो । महाभारतमा त एउटा निश्चित भूगोलभित्र बसोबास गर्ने संस्कार र संस्कृति अनि सभ्यता भएका जाति वा समुदायको समष्टिगत पहिचानको रुपमा ‘किरातनाम् च जातयः’ उल्लेख गरेको पाइन्छ । अब यो पनि होइन भन्ने हो भने तिनले मुलुकको हित होइन मुलुकलाई विखण्डन र अशान्तितर्फ मोड्दैछन भन्ने कुरा बेलैमा हेक्का राख्दा राम्रो हुन्छ ।

नेपाल एकीकरणको बेला पनि यो किरात देशकै रुपमा स्थापित थियो । किरात देश नेपालभित्र समाहित भएपछि जारी गरिएका अनेकन अभिलेखहरुको अध्ययन गर्दा पनि यो भूगोललाई किरात कैं रुपमा पहिचान गरिएको छ । र, यो पहिचानले २०१७ साल चैत २७ गतेसम्म निरन्तरता पाएको छ । जहाँ लिम्बू किपटीयाहरुले चर्चेको भूगोललाई किरात भनिएको छ । वि.सं.१८३१ सालमा नेपालमा किरात राज्यहरु गाभिएपछि वल्लो, माझ र पल्लो किरात भनेर खण्डित तुल्याइएको पाइन्छ । त्यसपछि खम्बूवान र लिम्बूवानको रुपमा विभाजन गर्दै लगे ।

१८९२ सालमा मात्रै रनबिर सुब्बालाई दिइएको लालमहोरमा खम्बुवान शब्दको पहिलो प्रयोग गरिएको पाइन्छ । यसले पनि खम्बु वा लिम्बूका नाममा तत्कालीन राज्य सत्ताको भाई फुटाउने र शासन गर्ने नीति निरन्तर चलेको छ र यो आजसम्म पनि चलेकै छ । कतिपयले भनेका र लेखेका छन् ।, खम्बुले लिम्बू नमान्ने, लिम्बूले खम्बु नमान्ने अनि किन किरात राख्ने ? कतिपय लिम्बूलाई त यसरी हिनतावोध हुने गरी रटाइएको छ कि उनीहरु आफूलाई किरात भन्न समेत लाजवोध गर्न सुरु गरेका छन् ।

यसबारे छुटै बहसमा गर्न तयार छु तर अहिले भने यो भूगोल समग्रमा किरात नै हो र यसैले यस प्रदेशको नाम किरात राख्दा सबैले अपनत्व ग्रहण गर्ने वातावरण सिर्जना हुन्छ । र, एउटा अभिलेख २००२ सालको जुन बेला माझ किरातको जग्गा जमीनको आधिकारिताको लागि सिरानमा लेखिन्थ्यो त्यसलाई प्रस्तुत गर्न अनुमति माग्दछु । किरात होइन भन्नेहरुले धेरै दृष्टिकोणबाट यसलाई विश्लेषण गरुन, भन्ने आग्रह गर्दै किरात नाम नैं उचित भएको ठान्दछु ।

भारत मधुवनीबाट झिकाएका कायस्थले लेखेको यो कागजमा ‘माझ किरात माल’ उल्लेख छ, उदयपुर, सिराहा, सप्तरी, खोटाङ, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु जिल्लाका कागजातमा, त्यसैगरी लिम्बूवान भनिएका कागजातहरुमा सिरानमा पल्लो किरात भन्ने उल्लेख भएको छ । यतिका प्रमाणलाई पनि मान्य नहुने हो भने हाम्रा विधायकहरुले आफ्नो भविष्य सुरक्षित गर्न तयार रहेनछ्, आफ्नो बाहेक जनताको भलो सोच्दैनन् भन्ने देखिन्छ । यी कागजातका आधारमा पनि यो प्रदेशको नाम किरात हुनु उचित देखिन्छ भन्ने राय श्रीमान विधायकहरु समक्ष जाहेर गर्दछु । आगे जो मर्जी ।

 

कौशल चेम्जोङ, बरिष्ठ पत्रकार तथा लेखक/पूर्वउपाध्यक्ष, नेपाल पत्रकार महासंघ

 

प्रतिक्रिया सबै