१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

संसद्‌मा प्रदीप ज्ञवालीको प्रश्न : हतियार किन्न पैसा पुग्छ, मल र किताबमा किन पुग्दैन ?

 बिहिबार, साउन ५ २०७९  

काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं सांसद प्रदीप ज्ञवालीले महंगीले जनताको ढाड सेक्दा पनि सरकार मुकदर्शक बनेको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सांसद ज्ञवालीले महंगी नियन्त्रण हुन नसक्दा जनता निकै मारमा परेको बताए ।

‘यो वर्षको बजेटमा न्यूनतम ज्याला बढाउने काम भएन । मुद्रास्फिती करिब ९ प्रतिशत पुगेको छ । आम सर्वसाधारण नागरिकहरु कसरी बाँचिरहेका छन् ?’, उनले प्रश्न गरे, ‘खोइ सरकारको ध्यान गएको । सत्तारुढ दलका नेताहरु मूल्यवृद्धि हुँदा पनि मौन छन् ।

महङ्गीले मध्यम वर्गलाई समेत समस्या परेको बताए । उनले भने, ‘सत्तापक्षका कतिपय नेताहरुको संवेदनहिनताका कारण असाध्यै आहात तुल्याएको छ । महंगी सन्दर्भमा गम्भिरतापूर्वक रुलिङ होस् । अहिलेसम्म किसानको हातमा मल छैन । विद्यार्थीको हातमा पाठ्यपुस्तक छैन ।’ सरकार मूल्य नियन्त्रणका सवालमा गैरजिम्मेवार र अनुत्तरदायी भएको उनले बताए ।

‘हतियार किन्नका लागि पैसा पुग्छ तर, मल र किताब खरिदका लागि पैंसा पुग्दैन सभामुख महोदय, अभावबाट जनता आक्रान्त छन् । सिन्डिकेट छ, कार्टेलिङ छ । कार्टेलिङलाई तत्काल अन्त्य गर्न जरुरी छ’, उनले भने ।

मूल्यबृद्धिको समस्यालाई विषयान्तर गर्न एम अधिकारीको बहस चलाएको आरोप लगाउँदै उनले गर्भनर अधिकारी आफ्नो दलमा नरहेको बताए । उनले भने, ‘यी सारा समस्याहरुलाई गम्भीरतापूर्वक सोच्ने बेलामा बहस हामीले कहाँ चलाइरहेका छौँ ? एम अधिकारी को हो भनेर खोजिरहेका छौँ । सम्बन्धित व्यक्ति भन्नुहुन्छ म २०७३ सालदेखि त्यो पार्टीमा छैन, सम्बन्धित पार्टी भन्छ २०७३ साल देखि उहाँ हुनुहुन्न ।’

 

प्रतिक्रिया सबै