९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

माओवादी पुनर्स्थापित नभए संघीयता बलियो र श्रीजिवीको हक स्थापित हुन सक्दैन: प्रचण्ड

 शुक्रबार, साउन ६ २०७९  

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा माओवादी पुनर्स्थापित नभए संघीयता बलियो हुन नसक्ने बताएका छन् ।

शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेसमा पहिले ठुलो डिजाइनका साथ भ्रम छरिएको बताउँदै त्यहाँका नेता माओवादीमा प्रवेश गर्नुले ठुलो सन्देश दिएको पनि बताए ।

‘अब पुनर्स्थापित हुने माओवादी नै हो । यो देशमा माओवादी पुर्नस्थापित भएन भने, माओवादी बलियो भएन भने संघीयता, लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन’, अध्यक्ष प्रचण्डले भने ।

माओवादी बलियो नभए मधेसी, आदिवासी, महिला मुस्लिम, श्रीजिवीको हक स्थापित हुन नसक्ने प्रचण्डको भनाई छ । उनले आगामी निर्वाचनमा माओवादीलाई देशको बागडोर आफ्नो हातमा लिन कसैले रोक्न नसक्ने दाबी पनि गरेका छन् ।

‘तपाईंहरूको आजको यो प्रदेशले यस्तो सन्देश दिएको छ । आउने निर्वाचनमा अब माओवादी पार्टीलाई देशको बागडोर आफ्नो हातमा लिन कसैले रोक्ने छैन भन्ने सन्देश छ’, प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेता/कार्यकर्ताको संख्या बढीरहेको भन्दै यसले माओवादीलाई एकपटक पुनः सरकार सञ्चालनको जिम्मा दिने बेला आइरहेको बताए ।

‘हाम्रै जोडबलमा आज नागरिकताबारे निर्णय हुँदैछ । आन्दोलनमा खेलेको भूमिकालाई कतै कमजोर हुन दिने छैन । नेपालमा विभेदमा भएका,पछि परेका वर्ग, समुदायको उत्थानका लागि नै माओवादीको आन्दोलन सुरु भएको हो’, अध्यक्ष प्रचण्डले भने, ‘कहीँ न कहीँ एउटा निकै ठूलो डिजाइनअन्तर्गत माओवादीको बारेमा भ्रम छर्ने कुचेष्टा गरियो माओवादीको आन्दोलनलाई कतै म कमी आउन दिनेछैन । पार्टी प्रवेश कार्यक्रमले सिंगो देश र मधेसमा बलियो सन्देश प्रवाहित भएको छ ।’

मधेसका सबैको हक अधिकार र पहिचानका लागि पार्टीले भूमिका खेलेको प्रचण्डले बताए । प्रचण्डले भने— ‘मधेसका सबैको हक, अधिकार र पहिचाको लडाइँ राष्ट्रिय रूपमा स्थापित गर्ने पार्टीमा जुन बुझाइ रहेछ त्यसले मलाई खुसी बनाएको छ । पर्सामा माओवादी पार्टी कमजोर छ । तर अब एकपटक फेरि पुनःस्थापित हुने माओवादी नै हो । यो देशमा माओवादी पुनःस्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । आउने निर्वाचनमा अब माओवादी पार्टीलाई देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन कसैले रोक्ने छैन ।’ माओवादीकै जोडबलमा शुक्रबार संघीय संसद्‍बाट नागरिकताबारे निर्णय हुन लागेको अध्यक्ष प्रचण्डको भनाई छ ।

प्रतिक्रिया सबै