९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

मण्डलामा मानव सभ्यताको कथा ‘खुवालुङ’ मञ्चन

 शुक्रबार, साउन ६ २०७९  

काठमाडौं । मण्डला थिएटरमा शुक्रबारदेखि ‘खुवालुङ’ नाटकको मञ्चन भइरहेको छ । राजन मुकारुङाले लेखेको नाटकलाई किरण चाम्लिङ राइले निर्देशन गरेका हुन् ।

हालको दूधकोशी, अरुण र तमोर नदीको संगमस्थल त्रिवेणीको जलाशयमा अवस्थित विशाल ढुङ्गालाई मुन्दुमी मान्यता र विश्वासमा खुवालुङको रुपमा मान्ने गरिएको छ ।


खुवालुङलाई साक्षी राखेर त्रिवेणीमा मिसिएका नदिहरुको मुल मुहान पछ्याउँदै जाने क्रममा विकास मानव सभ्यताको कथा नै खुवालुङको कथा भएको नाटकको निर्माण पक्षको भनाई छ ।

सांस्कृतिक आन्दोलनको निरन्तरताका लागि नाटक कलाकामार्फत् भन्नु, कहनुपर्छ भन्ने जिम्मेवारी महशुस गरिएर यो नाटक लेखिएको नाटकका लेखक मुकारुङले बताए ।

‘खुवालुङका बारे मुन्दुमि, तायामि अग्रज नाक्छोङ, बिजुवा, पुर्खाहरुबाट आफूले सुनेका र कतिपय प्राप्त संकलित, प्रकाशित कथा, कहानीहरुका आधारमा ‘साझा मान्यता’लाई मात्रै नाटकमा लेखिएको छ । मिथकमाथि सिर्जनात्मकता थप्ने प्रयास गरिएको छ’, उनले भनेका छन् ।

यस्तै, खुवालुङ एउटा ढुंगा मात्रै नभएर यसका प्राकृतिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक महत्वहरु भएकाले त्यसलाई नाटकमा उतार्ने जमर्को गरिएको नाटकका निर्देशक चाम्लिङले बताए ।


नाटकमा पशुपति राई, मानहाङ लावती, इंगि होपो कोइच सुनुवार, समयोग गुरागाईं, सविना थापा, प्रसम्शा सिवाकोटी, बेदना राई, रियर राई, रमिला मोक्तानलगायतका कलाकारको अभिनय छ ।

नाटकमा प्रयोग भएका दुई गीतहरुको रचना स्वप्निल स्मृति र राजन मुकारुङले गरेका छन् । शुक्रबारबाट मञ्चन भएको नाटक साउन २९ गतेसम्म चल्ने निर्माण पक्षले जनाएको छ ।

 

 

 

प्रतिक्रिया सबै