९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

यस्तो छ संसद्‌बाट पारित भएको नयाँ नागरिकता विधेयक

 शनिबार, साउन ७ २०७९  

काठमाडौं । प्रतिनिधि सभाबाट शुक्रबार नयाँ नागरिकतासम्बन्धी विधेयक पारित भएको छ । जन्मको आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्न दलहरु एकमत भए । तर, वैवाहिक अङ्गीकृत नागरिकतामा भने सहमति जुट्न नसकेकाले विधेयक बहुमतले पारित भएको हो ।

विदेशी महिलाले भने नेपाली पुरुषसँग विवाह गरेमा अङ्गीकृत नागरिकता कहिले दिने भन्ने विषयमा विधेयकमा केही पनि उल्लेख छैन । प्रमुख प्रतिपक्ष एमालेले यसका लागि ७ वर्ष म्याद राख्नुपर्ने प्रस्ताव राखेको थियो ।

गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गरिनेछ । तर उनीहरूलाई राजनीतिक र प्रशासनिक अधिकार भने प्राप्त नहुने विधेयकमा उल्लेख छ ।

पारित भएको नयाँ विधेयकअनुसार नेपालको संविधान जारी हुनुपूर्व अर्थात् २०७२ साल असोज ३ गतेअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।

यस्तै, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भइ नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने भएको छ ।

विधेयकमा कुनै महिलाले एकल अभिभावकत्वमा हुर्काएका सन्तानलाई बुबाको पहिचान नभएको अवस्थामा वंशजको नागरिकता दिने उल्लेख छ । नेपाली नागरिक आमाबाट नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता पाउने छ ।

विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मिएको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।

वंशजको आधारमा नागरिकता लिएका व्यक्तिको बुबा विदेशी नागरिक भएको पुष्टि भएमा त्यस्ता व्यक्तिको वंशजको नागरिकता फिर्ता लिइने र त्यसपछि ती व्यक्तिलाई अङ्गीकृत नागरिकता दिइने विधेयकमा उल्लेख छ । बुबा विदेशी नागरिक तर बुबाको देशबाट नागरिकता नलिएको खण्डमा भने आमाको नामबाट अङ्गीकृत नागरिकता लिन सकिनेछ ।

यस्तो छ पारित भएको नयाँ नागरिकता विधेयक

प्रतिक्रिया सबै