७ जेष्ठ २०८१, सोमबार Monday 20 May, 2024

अल्बर्ट आइन्स्टाइन : जसको दिमागले संसार जाग्यो

 शनिबार, साउन ७ २०७९  

काठमाडौं । अल्बर्ट आइन्स्टाइन विश्वप्रख्यात वैज्ञानिक हुन् । भौतिक शास्त्रमा उनले प्रतिपादन गरेका सुत्रहरुलाई विज्ञानको क्षेत्रमा ठुलो योगदान मानिन्छ । उनको कार्यलाई नोबेल पुरस्कारले सम्मान गरिएको थियो । १८ अप्रिल १९५५ बिहान ०१ : १५ बजे, आइन्स्टाइनको मृत्यु भएको थियो । पोस्टमार्टमका लागि उनको पार्थिव शरीर प्रिन्स्टन, न्यु जर्सीमा लगियो । आइन्स्टाइनको अन्तिम इच्छापत्रमा मृत शरीरलाई जलाएर खरानी गोप्य रूपमा छर्नुभन्ने थियो ।

साधारण जीवन बाँचेका आइन्स्टाइनले आफ्नो चिहान तीर्थस्थलका रूपमा विकास नहोस् भनेर सो इच्छा व्यक्त गरेको अनुमान छ । तर त्यो बखत हस्पिटलको ड्युटीमा रहेका प्याथोलजिस्टलाई यस्तो विख्यात दिमाग मृत्युपछिनि उपयोगमा आउन सक्ने लाग्यो, सायद । उनले अनुमतिविना आइन्स्टाइनको खप्पर खोले र दिमाग सुरक्षित झिके । उनले सो अङ्ग ल्याबको जारमा राखे र न्युयोर्क टाइम्समा यसबारेमा खबर पठाए ।

आइन्स्टाइनको परिवारले उनको पार्थिव शरीरमा पोस्टमार्टमको समयमा गरिएको छेडखानी बारे न्युयोर्क टाइम्स पढेर थाहा पाएका थिए । यो खबरले परिवारका सदस्यलाई खुसी बनाएन । विशेष आइन्स्टाइनको छोरा हान्सले यस कार्यमा तीव्र असन्तुष्टि व्यक्त गरे ।

आइन्स्टाइनको सो पोस्टमार्टम गर्ने प्याथोलजिस्टको नाम डाक्टर थोमस हार्भे थियो । हार्भे हान्सलाई भेट्न आफै गए । भेटमा उनले हान्सलाई उनको पिताको दिमागमाथि गरिने अध्ययनले विज्ञानमा पत्ता लाग्न बाँकी ठूलो रहस्यमध्ये एक उच्च प्रतिभाको रहस्यमा प्रकाश पार्ने भन्दै अध्यन गर्न अनुमति दिन मनाउन खोजे ।

हार्भेले खासमा त्यसो किन गरेका थिए त ? ‘उनले सो कार्य आफ्नो लागि गरेका थिए वा विज्ञानको लागि यो थाहा पाउन गाह्रो कुरा हो ।’ पत्रकार माइकल पर्टेनिटी बताउँछन् । ‘मेडिकल क्षेत्रमा चाहेको जस्तो नाम बनाउन नसकेको अवस्थामा आफ्नो टेबलमा अल्बर्ट आइन्स्टाइनको लास देख्दा हार्भेको दिमागबाट प्रसिद्ध हुने सोच आयो होला भनेर अनुमान गर्न सकिन्छ ।’ पोसेसिङ जेनियस्ः द विजायर अडिसे अफ आइस्टाइन ब्रेन किताबकी लेखिका क्यारोलिन अब्राहमले बताइन् । उनले आफ्नो सो किताब लेख्ने क्रममा सोधखोजका लागि हार्भेलाई भेटेको सम्झन्छिन् ।

तर समस्या के कुरामा थियो भने हार्भे हाफै न्युरोलोजिस्ट थिएनन् । दिमाग अध्ययन न्युरोलजीको क्षेत्रमा पथ्र्यो । हार्भेले देशका प्रतिष्ठित न्युरोलजिस्टहरूसँग सहकार्य गरेर सो दिमागको मिहीन अध्ययन गर्ने वाचा गरे । सो अध्ययनको निष्कर्ष प्रकाशित गर्ने वाचा गरेपछि मात्र हान्स आइन्स्टाइन उनको कुरामा सहमत भएका थिए । तर वर्षौं वित्यो, कुनै वैज्ञानिक आलेख प्रकाशित भएन । समय वितेसँगै मान्छेहरुले आइन्स्टाइनको दिमागलाई बिर्सिए ।

१९७८ मा एक युवा रिपोर्टर स्टेभन लेभीलाई उनको सम्पादकले सो बहमूल्य अङ्गको खबर तयार पार्न अह्राए । उक्त दिमाग प्रिन्सटन् मेडिकल सेन्टरको कतै फेला परेन न त थोमस हार्भे नै भेटिए । लेभीले अन्ततः हार्भेलाई केन्सासमा भेटे ।

‘मैले उनलाई ‘म आइन्स्टाइनको दिमाग बारेमा आलेख लेख्दैछु ।’ भन्दा उनले भनेको पहिलो कुरा थियो स् ‘म तपाईंलाई सहयोग गर्न सक्दिन ।’ लेभी सम्झन्छन् । ‘उनी बोल्न अनइच्छुक देखिन्थे ।’ ‘उनी केही मात्रामा अन्तरमुखी थिए । उनी अझै सो दिमागको अध्ययनको परिणाम प्रकाशित गर्नेबारे आशावादी थिए ।’ जब लेभीले हार्भेलाई सो दिमागको केही तस्बिरहरू देखाउन भने । तब डाक्टरको अनुहारमा केही अनौठो भाव आयो । उनी उठेर आफ्नो ल्याबको एक कुना राखिएको कार्डबोर्डहरूको थुप्रो हटाएर वियर चिस्साउने कुलर निकाले र त्यहाँबाट एउटा जार निकाले । सो जारमा आइन्स्टाइनको दिमाग राखिएको थियो ।’

लेभीको लेख न्यु जर्सी मासिकमा प्रकाशित भयो ।वैज्ञानिक आलेखमा नसही पहिलो पटक आइन्सटाइनको दिमागबारे लेख छापियोे । शङ्ख आकारको सो चाउरी परेको वस्तु बालुवाको रङको थियो । जारबाहिरबाट हेर्दा त्यो स्पोन्जजस्तो लाग्थ्यो ।’ दोस्रो ठूलो जारमा दर्जन जति आयातकार अर्ध-पारदर्शी टुक्राहरू थिए । यसको आकार ओखर जत्रो थियो ।

विगत २३ वर्षमा सो दिमागले हार्भेसँग गरेको यात्राबारे बाहिरी संसारले थाहा पायो । हान्सबाट अनुमति पाएपछि हार्भेले पहिलो काम सो दिमागको नापजोख गरे, फोटो लिए । त्यसपछि उनले सो दिमागको आफ्नो छोराछोरीको स्केच बनाउने चित्रकारबाट स्केचसमेत बनाए । त्यसपछि दिमागलाई २४० टुक्रा पारियो र १२ समूहमा २०० स्लाइड बनाइयो । यिनलाई हार्भेले वाचा गरेअनुसार १९५० दशकका ठूला न्युरोप्याथोलोजिस्टहरूकोमा पठाइयो ।

हार्भेले स्लाइस पठाएको अधिकांश प्रतिष्ठित विज्ञले कुनै प्रतिक्रिया पठाएनन् । केही जसले प्रतिकृृया फर्काए तिनले साधारण दिमागबाट सो दिमाग केही फरक नरहेको जवाफ दिएका थिए । यो तथ्य हार्भे आफैले सुरुमा गरेको मापनसँग केही मिल्थ्यो पनि । हार्भेले सो दिमाग तौलदा १२३० ग्राम थियो । यो भनेको आइन्स्टाइनको मृत्यु हुँदाको उमेरका साधारण मान्छेको दिमागको औसत तौल हो । सो दिमागको स्वामित्व लिएपछि उनको जीवनमा पीडादायी घटनाहरूको शृङ्खला आइपरेछ । दिमाग झिकेको विवादपछि उनी प्रिन्सटनबाट कामबाट निकालिए, उनको विवाह टुट्यो । त्यसपछि उनले कुनै स्थापित स्थानमा जागिर पाएनन् ।

१९७८ को गृष्ममा आएको सो लेखपछि, हार्भे एक्कासि चर्चाको केन्द्रमा आए । ‘साइन्स’ जर्नलले उनीसँग अन्तर्वार्ता लियो र रिपोर्टरहरू उनको घरअघि क्याम्प लाएर उनको पर्खाइमा रहन लागे । ‘उनीसँग रहेको दिमागमा केही नसोचेको समूहले पनि चाख दिन थाले । अमेरिकी सेना एक पटक उनी कहाँ आएर सो दिमागको बारेमा सोधखोज गरे । सायद उनीहरू रुसीहरूले आफ्नो देशका जेनियसहरूको दिमाग सङ्कलन गरिरहेका कामको सिको गर्न चाहन्थे, समय शीतयुद्धको थियो’, अब्राहम भन्छन् ।

उनलाई क्यालिफोर्निया विश्वविद्यालयका न्युरो–एनाटोमिस्ट म्यारिएम डाइमन्डले खोज्दै घरमै आए । डाइमन्डले आइन्स्टाइनको सो दिमागको अध्ययन पुन सुरु गरे । यो आइन्स्टाइनको दिमागमा भएको त्यसयताका अनगिन्ति अध्ययनको पहिलो प्रयास थियो । पछिल्ला अध्ययनले आइन्स्टाइनको दिमाग र उनको विद्वताबारे नयाँ केही पत्ता लगायो त ? डाइमन्डको १९८५ को एक्सपेरिमेन्टल न्युरोलोजीमा छापिएको आलेखमा आइन्स्टाइनको दिमागको प्रत्येक न्युरोनमा ‘ग्लियल कोष’ धेरै रहेको पहिचान गरिएको भनिएको छ । ‘ग्लियल कोष’ बढी मात्रा भएका जीवहरु बढी उत्साहप्रद हुने मुसाहरूमा गरिएको अध्ययनबाट पत्ता लगाएको थियो । सायद आइन्स्टाइनको विज्ञानमा समर्पित जीवनले यसो गराएको हो कि ?

थप अध्ययनहरू
१९९६ मा अलाबामा विश्वविद्यालयका ब्रिट एन्डरसनले आइन्स्टाइनको प्रिफ्रन्टल कोर्टेक्सको अध्ययन प्रकाशित गरे । उनले आइन्स्टाइनको दिमागको न्युरोनको सङ्ख्या बाँकी मान्छेजस्तै पाए । तर बाँकी जनसङ्ख्याभन्दामा ती बढी खँदिला थिए । सायद यसले गर्दा सूचनाको प्रशोधन शीघ्र हुन सम्भव बनाइरहेको थियो ।

सन् १९९९ मा ल्यान्सेटमा प्रकाशित आलेखमा स्यान्ड्रा विटेलसनेले आइन्स्टाइनको दिमागको पछिल्लो पेराइटल लोव्युल भाग जुन भाग दिमागको गणित र स्थानको अनुमान लगाउन प्रयोग हुने गर्छ– सामान्यभन्दा ठूलो थियो ।

२०१२ मा विख्यात मानवशास्त्री डीन फाल्कले पहिला अरूको पहुँच नभएको फोटोहरूमा पहुँच पाइन् र उनले तिनको अध्ययनबाट कैयौँ नयाँ गुण पत्ता लगाइन् । तिनमा सबैभन्दा प्रष्ट छुट्टिने गुण दिमागमा देखिने मध्य फ्रन्टल लोबमा देखिने थप चिरा थियो । यो भाग योजना बनाउन र स्मरणका लागि प्रयोग गरिन्छ । सामान्य मानिसमा चिराको सङ्ख्या तीन हुन्छ भने आइन्स्टाइनको दिमागमा चारवटा थियो ।

अब प्रश्न के उठ्छ भने यी गुण आइन्स्टाइनले जीवनभर गरेको उच्च सोचविचारले गर्दा विकास भएको थियो वा उनी यी गुण जन्मँदै लिएर आएका थिए । मान्छेहरूको दिमाग जन्मँदै एउटा आकारको हुन्छ, मान्छेको जीवनको अनुभवले त्यसमा पार्ने असरबारे अहिलेसम्म हामीलाई त्यति थाहा छैन ।

पछि आएका आलेखहरूको निष्कर्षको हवाला दिँदै प्रेसमा यी वैज्ञानिकसँग उच्च बौद्धिकताका लागि आवश्यक गुण जन्मँदै थियो भन्ने खालका समाचार आउन थाल्यो ।

“तपाईं एउटा अरूभन्दा फरक खालको दिमाग भएको मान्छेलार्ई मात्र देखाएर उच्च प्रतिभाको सबै रहस्य पत्ता लगाएको भन्न सक्नुहुन्न ।” पेस विश्वविद्यालयकी मनोविज्ञ र हुलाकपत्र सङ्कलकसमेत रहेकी टेरेस हाइन्सले बताए । उनी आइन्स्टाइनको दिमागको अध्ययनको कट्टर आलोचक हुन् । “तपाईं मेरो दिमागको अध्ययन गरेर त्यसमा रहेका केही फरकलाई देखाएर यही नै मेरो हुलाकपत्र सङ्कलकमा रुचि रहनुको कारण हो भन्नुहुन्छ भने त्यो बकवास हुन्छ ।”

हाइन्सले आइन्स्टाइनको दिमागको अध्ययनमा सङ्लग्न वैज्ञानिकहरू सो दिमागको न्युरोमिथकीकरणमा फसेको बताएका छन् । यसको पहिलो शिकार हार्भे आफै भएको हाइन्सले बताउँछन् । हार्भे आफूले सुरुमा पठाएका स्याम्पलहरूबाट केही अद्भूद निष्कर्ष निक्लनेमा ढुक्क थिए ।

जब त्यस्तो निष्कर्ष कुनै स्याम्पलबाट आएन उनी निरास भए र निराशामा स्व–निवार्सनमा बसेकाले लामो समय उनले कुनै आलेख छापेनन् । लेभीको १९७८ मा न्युजर्सीमा आएको लेखपछि उत्पन्न आइन्स्टाइनको दिमागप्रतिको चाखले उत्साहित भएर हार्भी पुनः सक्रिए हुन थालेका हुन् । पहिलो पटक सो दिमाग सामान्य दिमागभन्दा फरक रहेको निष्कर्ष निकाल्ने डायमन्डले पनि आफूसँग रहेको चारवटा स्याम्पलमध्ये एउटामा मात्र ‘ग्लियल कोष’हरू बढी रहेको पत्ता लगाएका थिए । जुन आम मान्छेकै सन्दर्भमा त्यस्तो परिणाम आउन सक्छ ।

आइन्स्टाइनको दिमाग बाँकी मान्छेभन्दा फरक रहेको स्वीकार्ने वैज्ञानिकहरू पनि पत्ता लागेकै फरकपनाका कारण नै आइन्टाइनले आफ्नो उच्च-प्रतिभा हासिल गरेको भनेर निश्चितताका साथ भन्न नसकिने बताए । पहिलो कुरा आइन्स्टाइनमा सार्वजनिक रूपमा चाख भएको हुनाले उनको दिमाग यति मिहिन रूपमा अध्ययन भएकाले गर्दा पनि उनमा यस्तो फरकहरू भेटिएको हुनसक्छ ।

साथै यो अध्ययनमा रहेको अर्को समस्या भनेको पछिल्ला सबै अध्ययन हार्भेले लिएका फोटोहरूको आधारमा गरिएको छ । हाल सो दिमागका टुक्राहरू प्रत्यक्ष अध्ययन गर्नका लागि उपलब्ध गरिएको छैन । हाल ती दिमागका टुक्राको स्वामित्व लिएका प्रिन्सटन विश्वविद्यालय मेडिकल सेन्टरका प्याथोलजिस्ट एलियट क्रोसले सो दिमागको अवशेष हालको प्रविधिले अध्ययन गर्न नसकिने अवस्थामा रहेको बताएका छन् ।

सुरु सुरुमा आउनेहरूले अध्ययन गर्ने भन्दै आइन्स्टाइनको सो दिमागको एक–एक टुक्रा आफैसँग राख्ने बाहाना मात्र बनाएकाले अब आफू सो दिमागको अध्ययन गर्न सक्ने प्रविधि रहेको विश्वास दिलाए मात्र प्रयोगको अनुमति दिने बताए ।

आइन्स्टाइनको दिमागको वैज्ञानिक महत्व विवादमा रहे पनि यसका बारेमा धेरै साहित्य लेखिएकाले संस्कृतिक सिर्जनशीलताका रूपमा उपयोगी रह्यो । यसको बारेमा उपन्यास, कमिक किताबहरू र निक पाइनद्वारा अभिनित नाटकसमेत आइसकेका छन् । नाटक हार्भेको अनुभवमा आधारित रहेको छ ।

सरल आइन्स्टाइन
अल्बर्ट आइन्स्टाइन अत्यन्तै सरल स्वभावका थिए । केश जिङरिङ पारेर हिंड्थे । आफू संग जे छ, त्यसमै रमाउने स्वभावका थिए। सानो छँदा आइन्स्टाइन बोधो दिमागका थिए । कतिसम्म भने उनी तीन वर्षको हुँदासम्म पनि बोल्न जान्दैन थिए । शिक्षकले सोधेका प्रश्नहरुको पनि उनी हत्तपत्त जवाफ दिँदैनथे । त्यसैले शिक्षकहरुले उनलाई मन्दबुद्धिका भनी गाली गर्थे, हेप्थे र कठोर दण्ड दिन्थे । उनलाई कक्षामा पढाइने घोकन्ते र रटन्ते तरिका मन पर्दैनथियो ।आइन्स्टाइन विभिन्न नयाँ नयाँ कुराहरु सोच्न मन पराउँथे । एकपटक वेल्जियमकी महारानीले उनलाई औपचारिक भ्रमणमा निम्तोमा, उनी पैदल हिंडेर दरबारबाट अघि आइरहेको देखेर उनले प्रश्न सोधिन रु डा. साहेव, किन मैले तपाईलाई पठाएको कार छोडी लुसुलुस हिंडेर किन आउनुभएको ? मुसुक्क मुस्कुराउँदै उनले भने, महारानी महोदय पैदल हिडुनुको मजा अर्कै छ । संसारमा विभिन् ठाउँबाट कैयौं मानिसहरू उनलाई भेट्न आउँथे ।

उनी भ्याएसम्म सबैसँग कुरा गर्दथे । उनी राजनीतकि वहस गर्न खुवै रूचाउँथे । उनी भन्थे “मेरो जीवन समीकरण र राजनीतबिीच विभाजित छ । यसै प्रसंगमा एक पटक उनले भनेका थिएः राजनीति कर्ताहरूको लागि मात्र हो तर समीकरण अनन्तकालसम्म माथि छ ।एक पटक उनलाई साँगुरो गल्लीबाट जानको लागि मानिसले तान्ने रिक्सामा बस्न अनुरोध गर्दा अस्वीकार गरी भनेका थिए– मानवलाई पशु झैंव्यवहार गरी त्यसमाथि सवार भएर जान मेरो नैतिकताले कदापी स्वीकार्दैन भन्दै ईश्वरप्रति उनको धारणा थियोः ईश्वर दयालु हुन सकछन् तर दुष्ट हुँदैनन् ।उनले विज्ञानलाई जहिले पनि व्यवहारमा र सामाजिक जनजीवनमा उतार्नुपर्दछ भन्ने ठान्दथे ।

शिक्षाको बारेमा उनको धारणा थियोः शिक्षाको साँचो उद्देश्य भनेको मानिसको मस्तिष्कलाई सोच्ने बनाउन तालिम प्रदान गर्नु हो । तसर्थ शिक्षा अमूल्य छ । ”आइन्स्टाइन विश्व शान्तिका पक्षपाती थिए । उनी विज्ञानलाई मानवीय र सामािजक उत्तरदायित्व वहन गर्ने विषयमा केनिद्रत एवम् क्रियाशील बनाउन चाहन्थे ।

विज्ञानलाई दर्शनसँग जोड्न रूचाउने आइन्स्टाइन “शान्तिपूर्ण विश्व सरकार स्थापनार्थ निरन्तर तल्लीन थिए ।सन् १९५२ मा इजरायलमा प्रथम राष्ट्रपति चाहम वाइजम्यानको मृत्यृपछि प्रधानमन्त्री डेभिड वेन गुडियनले आइन्स्टाइनलाई इजरायलमा राष्ट्रपति बनिदिन अनुरोध सहित राखिएको प्रस्तावलाई उनले अस्वीकार गरेका थिए ।

आइन्स्टाइनका प्रेरक भनाइहरु
—अप्ठ्यारोको बीचमा नै अवसर लुकेको हुन्छ ।
—जसले जीवनमा कुनै गल्ती नै गरेन, उसले जीवनमा केही गर्ने प्रयास नै गरेन ।
—जीवन साइकल चलाए जस्तै हो । ब्यालेन्समा राखिराख्न तिमी हिंडीराख्नुपर्छ ।
—सफल मानिस होइन असल मानिस बन्ने प्रयास गर ।
—अरुको लागि बाँचेको जीवन मूल्यवान हुन्छ ।
—कल्पना, ज्ञानभन्दा बढी शक्तिशाली हुन्छ ।
—यो होइन म धेरै ‘स्मार्ट’ छु , साँचो त यो हो की म समस्याहरुसंग लामो समयसम्म लडीरहन्छु ।
—अनुभव नै ज्ञानको स्रोत हो ।
—डुंगा नदी किनारमा सुरक्षित रहन सक्छ । तर डुंगा बनाउनुको उद्देश्य त्यो होइन।
—जबसम्म प्रयास गर्न छोड्दैनौ, तबसम्म तिमी असफल भएको मानिदैनौ ।
—हामीले जब हामीमा भएको सिमिततालाई स्वीकार्छौं, तब त्यसलाई जितेर अगाडी बढ्न सक्छौं ।
– हरेक व्यक्ति सक्षम हुन्छ । तर यदि तिमीले माछालाई रुख चढ्न नसकेको आधारमा मूल्यांकन गर्छौ भने उसलाई सधै असक्षम ठान्नेछौ ।
—पहिले तिमीले खेलको नियम राम्रो संग बुझ्यौ भने मात्र त्यो खेल अरुले भन्दा राम्रो खेल्न सक्छौं ।

बीबीसी र विभिन्न एजेन्सीबाट

प्रतिक्रिया सबै