११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

के तपाईलाई यौन रोगको शंका छ ?

 सोमवार, साउन ९ २०७९  

काठमाडौं । यौन रोग भएको व्यक्तिसँग यौन सम्पर्क राख्दा सर्ने रोगहरुलाई यौन रोग भनिन्छ । यस्ता रोगहरु प्रायजसो यौन सम्पर्कबाट सर्ने भएता पनि अन्य कारणहरु जस्तै संक्रमित गर्भवती आमाबाट बच्चामा, रगतको माध्यमबाट पनि यौन रोगहरु सर्न सक्दछन् ।

भाईरस तथा ब्याक्टेरियाहरु यौन रोगका कारणहरु हुन् । यौन रोगहरुको पहिचान या त लक्षणबाट हुन सक्छ या प्रयोगशाला जाँच गरेर गर्न सकिन्छ । लक्षण नदेखिएका यौन रोगहरुलाई प्रयोगशालामा जाँच गरेर मात्र पहिचान गर्न सकिन्छ ।

—यौन रोग संक्रमणहरुबाट बच्ने एकमात्र उपाय यौन सम्पर्क नराख्नु हो ।
—यौन सम्पर्क एक विश्वासिलो ब्यक्ति बाहेक अरुसँग नराख्ने ।
—हरेक पटकको यौन सम्पर्कमा (योनी, मुख र मलद्वार) कण्डमको सही र नियमित प्रयोग गर्नुपर्छ ।
—रोगले जटिल रुप लिन वा अन्य ब्यक्तिहरुमा सर्नबाट बचाउनको लागि समयमै स्वास्थ्यकर्मीबाट उपचार
गराउने ।
—यौन रोग देखापरे पछि स्वास्थ्यकमीको सल्लाह बमोजिम औषधीको नियमित सेवन गर्नुपर्छ
—यौन रोग देखापरे पछि यौन साथीको पनि पुर्णरुपमाउपचार गर्नुपर्छ ।

यौन रोगका प्रकार
नेपालमा निम्न प्रकारका यौन रोगहरु देखिएका छन् :
—पुरुषहरुमा
—मुत्रनलीबाट पिप बग्ने धातु रोग
—यौन अङ्गमा घाउ हुने भिरिङ्गी जस्ता रोग
—यौन अङ्गमा मसिना पानीका फोका जस्ता
देखिने हर्पेश भनिने रोग
—अण्डकोष सु्निने रोग
—काछमा गाँठा देखिने एक प्रकारको रोग
—यौन अङ्गमा मुसा जस्तो मासु पलाउने रोग

महिलाहरुमा
—यौन अङ्गमा घाउ हुने भिरिङ्गी जस्ता रोग
—योनीबाट पानी बग्ने रोग
—पाठेघरको मुखमा सुनिने रोग
—यौन अङ्गमा पानीको फोका जस्तो देखिने हर्पेश
भनिेने रोग
—यौन अङ्गमा मुसा जस्तो मासु पलाउने रोग

यौन रोगका सामान्य लक्षणहरु
—महिलाहरुको योनी वरिपरि चिलाउन
—योनीबाट गन्हाउने पानी बगिरहनु
—तल्लो पेट दुख्नु
—महिनावारी अनियमित हुनु
—पुरुषको लिङ्गबाट पिप बगिरहनु
—यौन सम्पर्क राख्दा वा पिसाब, फेर्दा यौनाङ्ग, वरिपरि चिलाउने तथा सानासाना खटिराहरु देखा पर्नु घाउ देखिनु
—योनीे वरिपरि ग्रन्थीहरु सुन्निनु, ज्वरो आउनु तथा योनी वा योनीको वरिपरि मासु पलाउनु
—गुद्वार मैथुन गर्ने व्यक्तिको गुद्वार दुख्नु तथा पिप बग्नु माथि उल्लिखित मध्ये एक वा बढी लक्षण देखिएमा तत्काल यौन रोगको जाँच गराउनु पर्दछ ।
—लक्षण नदेखिएता पनि आफूमा कुनै पनि यौन रोग नभएको सुनिश्चित गर्न पनि समय–समयमा यौन रोगको परिक्षण गराउनु पर्दछ ।

भिरिङ्गीको उपचार के छ ?
भिरिङ्गीलाई पेनिसिलिन नामक औषधिको सहायताबाट उपचार गर्न सकिन्छ । पेनिसिलिन सूईको माध्यमबाट दिईन्छ । यदि पेनिसिलिन तपाईलाई फाप्दैन भने उपचार गराउनु भन्दा अघि स्वास्थ्यकर्मीसँग सल्लाह गर्न जरुरी हुन्छ । यदि तपाईमा भिरिङ्गीले जटिलरुप लिईसकेको छ भने तपाईलाई विस्तृत उपचारको आवश्यकता पर्दछ । यस्तो उपचार स्वास्थ्यकर्मीको निगरानीमा वा स्वास्थ्य केन्द्रमा गर्न सकिन्छ ।

भिरिङ्गी निको भयो भनेर कसरी थाहा पाउने ?
उपचार पछि पनि तपाईको स्वास्थ्यकर्मीले तपाईलाई पटक पटक रगत जाँचको लागि बोलाई रहन्छन् । यस्तो जाँचबाट औषधिले भिरिङ्गीका किटाणुहरु मारेको देखिन आएमा भिरिङ्गी निको भएको मानिन्छ ।

भरिङ्गी र यसका लक्षणहरु
पुरुषहरुमा भिरिङ्गीको पहिलो लक्षण लिङ्गमा सफा र नदुख्ने घाउ देखिनु हो । महिलाहरुमा भिरिङ्गीको पहिलो लक्षण योनी भित्र वा योनीको वरिपरि मसिना घाउहरु देखिनु हो । यस्ता घाउहरु नदुख्ने हुनाले घाउ भएको छ भनेर थाहा नहुन पनि सक्छ । यस्ता घाउहरु ३ हप्ता देखि ६ हप्ताभित्र बिना उपचार आफै हराएर जान्छन् ।

यदि भिरिङ्गीको समयमै उपचार नगराएमा यी घाउहरुबाट भिरिङ्गीका जीवाणुहरु रगतमा सर्न पुग्छन् । रगतमा भिरिङ्गी प्रवेश गरिसकेपछि यसले विभिन्न खालका समस्याहरु पैदा गर्नसक्छ । यसको सामान्य लक्षण शरीरमा नचिलाउने धर्सा हुनु हो । घाउ भएको दुईहप्ता देखि दुई महिनासम्म यस्ता धर्सा देखा पर्दछन् । कहिलेकाँही हत्केला तथा पैतलामा पनि यस्ता धर्सा तथा घाउहरु देखा पर्दछन् । भिरिङ्गीका अन्य लक्षणहरुमा ज्वरो आउनु, घाँटीमा घाउ हुनु र ग्रन्थीहरु सुन्निनु आदि हुन् ।

के कुनै लक्षण नदेखिए पनि यौन रोगको शंका गर्न सकिन्छ ? सकिन्छ, किनभने केही रोगहरुले कुनै पनि लक्षण नदेखाउन सक्छन् वा रोग आफै निको भएर गएको जस्तो लाग्न सक्छ । भिरिङ्गीले कुनै समयमा लक्षण नदेखाउन पनि सक्छ, महिलाहरुमा प्रायः यौन रोगका लक्षणहरु नदेखिन सक्छन् । यस्तो अवस्थामा जोखिम हेरी स्वास्थ्य संस्थामा जचाउन जानु पर्दछ । श्रोत :  https://pdf.usaid.gov/pdf_docs/PA00KKN9.pdf

प्रतिक्रिया सबै