१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

एसपीपी अस्वीकारबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न एमालेको माग

 शुक्रबार, साउन १३ २०७९  

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एसपीपी अस्वीकार गरेको भन्दै अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका सांसद् भीम रावलले एसपीपी अस्वीकार गरेको भन्दै अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका हुन् ।

पत्र लेखिएको कुरा नेपाली जनताले थाहा पाउने गरी संसद्मा सार्वजनिक गर्न उनले आग्रह गरे । एसपीपी कार्यक्रम मात्र नबढ्ने भन्ने पत्र गएको हो कि सदस्यताबाट पनि नेपाल हटेको हो त्यो स्पष्ट पार्न पनि अनुरोध गरेका छन् ।

यस्तै सांसद् शिवमाया तुम्वाहाम्फेले पनि पत्र सार्वजनिक गर्न माग गरिन् ।

अमेरिकी सेना र नेपाली सेनाबीच हुने भनिएको एसपीपी कार्यक्रम अघि नबढाउने जानकारीसहितको पत्र अमेरिकालाई पठाइएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले शुक्रबारको संसद बैठकमा दिएका हुन् ।

संसद बैठकमा उनले भने- ‘परराष्ट्र मन्त्रालयले सरकारको निर्णयलाई कार्यान्वयन गरिसकेको व्यहोरा जानकारी गराउन चाहन्छु । २०७९ साउन ९ गते कूटनीतिक माध्यमबाट एसपीपी कार्यक्रमलाई अघि नबढाउने जानकारीसहित अमेरिकी सरकारलाई पत्र पठाएको जानकारी गराउन चाहन्छु ।’

२०७९ असार ६ गते एसपीपी कार्यक्रम अघि नबढाउने भनिसकेको अवस्थामा आन्तरिक छलफल गरेर पत्र पठाउन केही ढिला भएको उनले बताए । ‘यो निर्णयलाई अमेरिकी सरकारलाई नेपाल सरकारले जानकारी गराएन भनेर सांसदहरुले प्रश्न उठाउनु भएको । एसपीपीबारे नेपाल सरकारले गरेको निर्णयबारे अहिलेसम्मका विकासक्रमबारे जवाफ दिन संसदमा आएको हुँ। सरकारले यसबारे अमेरिकालाई पत्र पठाइसकेको छ ।’

खड्काले संसदीय समिति र सभामुखबाट पनि एसपीपीबारेको निर्णयबारे जानकारी गराउन निर्देशन प्राप्त भएको उनको भनाई छ । खड्काले नेपाल कुनै पनि सैन्य गठबन्धनमा संलग्न नहुने पनि बताए । नेपालले असंलग्न परराष्ट नीति अवलम्बन गरेकाले यसमा दायाँबायाँ नहुने उनको भनाई छ ।

प्रतिक्रिया सबै