९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

जापान हिडेकी सपना विमानस्थलबाट पक्राउ !

 शुक्रबार, साउन १३ २०७९  

काठमाडौं । कोहलपुर नगरपालिका–२, बाँकेकी २१ वर्षीया सपना मल्ललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ ।  वैदेशिक अध्ययनका लागि जापान जान लगेज बोकेर गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी सपनालाई सादा पोशाकमा पुगेका चार/पाँच जना प्रहरीले पक्राउ गरेको हो ।

सोहि दिन बिहान ७ बजे साथीभाइ र आफन्तले खादा र माला लगाइदिएर बिदाबारी गराइसकेर उनी नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं, दिल्ली हुँदै टोकियो पुग्ने टिकट लिएर विमानस्थलमा पुगेकी थिइन् । त्यही अनुसार ५ बजे नै बिदाइ सकेर उनी सुरक्षा जाँच पार गरेर लगेज जोखिसकेको अवस्थामा उडानका लागि अन्तिम जाँच कक्षमा थिईन् । तर, उडान हुनु केही समयअघि मात्रै सादा पोशाकका चार/पाँच जना प्रहरी पुगेर उनलाई केरकार गर्न थाल्यो ।

विमानस्थल पुगेका एक अधिकृतका अनुसार सुरुमा उनले आफूलाई केही कुरा थाहा नभएको र कुनै अपराधमा संलग्न नभएको उनले दाबी गरेकी थिइन् । तर कोहलपुरमा हत्या गरिएका सर्जन बिकसँगको बिवाह दर्ता गरेको कागजात देखाएपछि उनी अक्क बक्क भएकी थिइन् ।

पक्राउ पूर्जी लिएर विमानस्थल पुगेको प्रहरीले उनको हातमा त्यहि बेला हत्कडी लगाएको हो । वैदेशिक अध्ययन र उज्जवल भविष्यको परिकल्पना गर्दै विमानस्थल पुगेकी सपनाको सपना विमानस्थलमै तुहिएको छ । प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक एआईजी उत्तमराज सुवेदीले उनीविरुद्ध अहिले विस्तृत अनुसन्धान भइरहेको बताए । २ वैशाख २०७८ मा कोहलपुर–११, बाँकेमा २१ वर्षीया सर्जन विक चढेको मोटरसाइललाई मिनी बसले ठक्कर दिएको उनले बताए । उनका अनुसार त्यसक्रममा ज्यान गुमाएका विकको २ करोड ५० लाख रुपैयाँको बीमा थियो ।

पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै प्रहरी ।

बीमा गरेको एक महिनामै उनको मृत्यु भएपछि बीमा कम्पनीलाई शंका लाग्यो र सीआईबीमा ठगी कसूरमा उजुरी परेको उनले बताए । अनुसन्धानका सिलसिलामा बीमा रकम हत्याउनैका लागि सपनाको विकसँग नक्कली विवाह गराइएको खुलेको उनको भनाई छ ।

उनलाई विकसँग विहे गरे डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लगिदिने प्रलोभन दिइएको सपनले बयान दिएकी थिइन् । विवाह दर्तापछि विकसँग मल्लको भेट समेत भएको थिएन । उनी विकको मृत्यु संस्कारमा पनि सहभागी भएकी थिइनन् ।

उनले बयानमा आफूलाई बीमाबारे कुनै जानकारी नभएको बताएको प्रहरीको भनाई छ । यस प्रकरणमा मल्लसहित सञ्जीव अर्याल, सरदार महमद खाँ, टोपबहादुर राना क्षेत्री, दिपकक केसी र ललिता सापकोटा ‘आरती’लाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया सबै