११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

हर्क साम्पाङ भावुक- देशकै निम्ति मर्न सकुँ…

 शनिबार, साउन १४ २०७९  

काठमाडौं । सुनसरी धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङ ‘देशकै निम्ति मर्न सकूँ’ भन्दै डाँको छाडेर रोएका छन् । धरानस्थित निशाने खोलामा शनिबार बिहान बोटविरुवा रोप्न पुगेका मेयर साम्पाङ धरान ब्युटी कन्टेस्टमा भाग लिने युवतीहरूलाई सम्बोधन गर्ने क्रममा भावुक बनेका हुन् ।

मेयर साम्पाङ आफूले लेखेको देशभक्तिपूर्ण गीत सम्झिँदै सम्बोधन गर्दै गर्दा अचानक डाँको छोडेर रोएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

‘देशकै निम्ति मर्न सकूँ, देशकै लागि गर्न सकूँ, जे होस् मलाई खुसी लाग्छ । आज देश विदेशबाट भेट्न आउनु भएको छ । रुँदै….म एउटा सानो मान्छे हुँ । देश सोच्नुहोस्, देशकै लागि कर्म गर्नुहोस् । एक दिन मर्नुपर्दा पनि देशकै लागि मर्नुपर्छ भन्ने उत्प्रेरणा दिन चाहन्छु’, उनले भनेका छन् ।

प्रतियोगितालाई उत्प्रेरणा दिने ठाउँमा आफू भए पनि एक्कासि रुन आएको उनले बताए । ‘म तपाईंहरूलाई प्रेरणा दिन आएको थिएँ तर आफैँ भावुक बने । म मान्छे हुँ, मान्छेलाई कहिले हाँस उठ्छ, कहिले रिस, कहिले रुन आउँछ यस्तै भयो आज ।’

मेयर साम्पाङले आफू सानो मान्छे भए पनि देश, विदेशबाट पाएको साथ, माया र समर्थनले आफूलाई भावुक बनाएको र रुन पुगेको प्रतिक्रिया दिएका छन् । उनले स्थानीय मिडियालाई प्रतिक्रिया दिँदै भनेका छन्— ‘मान्छे हो, घरी मान्छेलाई हाँस उठ्छ, घरी रिस उठ्छ, रुन पनि मन लाग्दो रहेछ, त्यो स्थितिमा मलाई आज अचानक फिल भयो । कुनै दुःख र पीडाले होइन, हर्षले नै म रोएको हो ।’

निशाने खोलामा उनले पानीमा भिज्दै विरुवा रोपेका थिए । उनलाई साथ दिन थुप्रै मानिस त्यहाँ पुगेका थिए । उनले जलाधार क्षेत्रमा वृक्षारोपण नगरिँदा र भएको पनि जग्गा किनबेचको नाममा मासिँदा खोलामा पानी सुकेको बताए । उनले त्यस क्षेत्रमा अब १ करोडभन्दा बढी बिरुवा रोप्नुपर्ने पनि बताए । त्यसपछि खोलामा चैत महिनामा पनि पानी बग्न थाल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया सबै