१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

श्रीमान-श्रीमतीको झगडाले परिवार नै सखाप

 सोमवार, साउन १६ २०७९  

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-२, काभ्रेस्थली, पदमसालमा एकै परिवारका चार जना सोमबार विहान मृत भेटिए । गोरखाको भीमसेन थापा गाउँपालिका-६ घर भई काभ्रेस्थली बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता, छोरा आशिक र छोरी आशिका घरमै मृत भेटिएका हुन् ।

राजधानीको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसालमा घट्नामा श्रीमान–श्रीमतीको विवादले नै घट्ना भएको पाइएको छ । पारिवारिक विवाद र त्यसमाथि सम्पत्तिको लफडाले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

प्रहरीका अनुसार मृतकमा श्रीमान-श्रीमती र दुई छोराछोरी रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे रहेका छन् । दिनेश र सुनिता श्रीमान श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी हुन् । युके जाने तयारीमा रहेकी सुनिताको शरीरका ७ भन्दा स्थानमा चक्कुको प्रहार गरेको देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

प्रहरी अनुसन्धानबाट पहिला श्रीमती र त्यसपछि दुई छोराछोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको खुलेको छ । गोरखाको भीमसेन थापा गाउँपालिकास्थित आश्राङ घर भएका उनीहरुको पदमसालमा एक तले घर थियो भने घर नजिकै चोकमा फेन्सी पसल रहेको थियो ।

स्थानीयवासीका अनुसार श्रीमान–श्रीमतीबीच पहिलेदेखि नै झगडा हुने गरेको थियो । विवादकै क्रममा श्रीमानले घर बेच्न खोजेपछि विवाद उग्र बनेको थियो । घर बेच्ने कुरा नमिलेपछि श्रीमतीलाई थाहै नदिइ दिनेशले घर बेच्न १० लाख बैना गरेको खुलेको प्रहरीको भनाई छ । यस्तै सोही घर धितो राखेर बैंकबाट १८ लाख ऋण लिएको पनि खुलेको छ ।

विवादकै क्रममा माइती पक्षले छोरीलाई बेलायत पठाउने भनेर निर्णय गरेर भिसा पनि आइसकेको पाइएको छ । बेलायत जाने तयारी हुँदै गर्दा परिवार नै सखाप बन्न पुगेको छ ।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा राति नै घटना भएको जस्तो देखिएको छ । घरको कोठाभित्र श्रीमती भूइँमा र छोराछोरी खाटमा मृत फेला परेका थिए । श्रीमान पासो लगाएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाएको छ ।

घटनास्थलमा ‘सुसाइड नोट’ पनि भेटियो
घटनास्थलमा ‘सुसाइड नोट’ पनि भेटिएको छ, जुन दिनेशको भएको मानिएको छ । आशिक काभ्रेस्थलीको युनाइटेड स्कुलमा कक्षा ५ मा र छोरी आशिका आर्मी स्कुलमा पढ्थे । अरु दिन झै सोमबार पनि आर्मी स्कुलको गाडी आशिकालाई लिन घर अगाडि पुगेको थियो । तर उनी बाहिर आइनन् । नजिकै घर भएका साथीले बोलाउँदा पनि परिवारका सदस्यहरु समेत नबोलेपछि स्थानीय भेला भएको स्थानीयको भनाई छ ।

बाक्लो बस्ती भएका कारण क्षणभरै मानिस जम्मा भएर र प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका खोलेर हेर्दा परिवारका सदस्यको शव विभत्स अवस्थामा भेटिएको हो ।

स्थानीय दुर्गा कार्कीले दिनेश र सुनिताबीच पछिल्लो समय विवाद हुने गरेको बताए । प्रहरीको बलाजु वृत्तसम्म घटना पुगेको थियो । स्थानीयले पनि मिलाउने प्रयास गरेका थिए । तर विवाद नमिलेपछि दिनेशले सम्बन्धविच्छेद पनि मागेको थिए ।

सुनिताले भने छोराछोरीका लागि भएपनि सम्बन्धविच्छेद नगर्ने बताएकी उनीहरुलाई नजिकबाट चिन्नेहरुको भनाई छ । बरु आफैं वैदेशिक रोजगारीमा जाने भनेर बेलायतको सिजनल भिसाका लागि निवेदन दिएकी थिइन् ।

उनको भिषा समेत लागेको थियो । बेलायत जाने तयारीकै क्रममा उनले पेन्सी पसल बेचेकी थिइन् भने सहकारीमा राखेको रकम झिकेर खाता बन्द गरेकी थिइन् ।

प्रहरीले उठायो चारै जनाको शव

प्रहरीले अहिले मृत भेटिएका चारै जनाको शव पोस्टमार्टमका लागि उठाएको छ । प्रहरी तथा शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान सकेर शव उठाएको हो । उनीहरुको शवको शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया सबै