९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

३५ बर्षपछि कोसीको बाँध भत्किँदा हजारौँ परिवार विस्थापित

 बुधबार, साउन १८ २०७९  

काठमाडौं । ३५ वर्षअघिको बाँध फुटेर गाउँ पसेपछि उदयपुरको बेलका नगरपालिकामा स्थानीयको अवस्था बेहाल भएको छ । ०४५ सालसम्म कोसी नदी बेलका नगरपालिका ८ डुम्रीबोटेबाट बग्ने गर्दथ्यो । ०४५ पछि कोसी नदीको बहाव पूर्वतर्फ धकेलियो । नदी पछि सरेपछि बस्ती अघिल्तिर सर्दै बस्दै गयो । ३५ वर्षपछि बुधबार बिहान कोसी नदी पुरानै बहावमा फर्किँदा बस्तीका मानिसको उठिबास भएको हो ।

बेलका नगरपालिका-८ डुम्रिबोटेस्थित लाउरी खोलामा २०४४ सालमा निर्मित बाँध मंगलबार बिहानको बाढीले भत्काएर गाउँ पसेपछि हजारौं स्थानीय जोखिममा परेका छन् ।

लगातारको वर्षाका कारण आएको बाढी गाउँ पस्दै डुम्रोबोटे, सिसौलीघाट हुदै ३ नं वडातर्फ पस्न थालेपछि ४ हजार बढी घरधुरी परिवार डुवान र कटानको जोखिममा परेका छन् । बाढी प्रभावितहरुलाई नगरपालिका, सशस्त्र, जनपध र विपत व्यवस्थापन टोलीले विहानदेखि नै उद्धार गरी सुरक्षित स्थानतर्फ ल्याउने काम भइरहेको छ । बेलका ८ का वडाध्यक्ष जयकुमार राईका अनुसार सिसौलीघाटका डेढसय घरधुरी परिवारलाई सुरक्षित स्थानमा लगेर राखिएको छ ।

त्यस्तै, वडा नम्बर ३ अध्यक्ष टंकप्रसाद आचार्यले वडाका ७ वटा टोल विकास संस्थामा आबद्ध ९ सय घरधुरीका ३ हजार ७ सय जनालाई सुरक्षित स्थानमा सारिएको बताए । उनीहरुलाई उच्च ठाउँ, विद्यालय, खाली घरहरुमा राखिएको छ ।

नगरप्रमुख अशोक कार्कीले कोसीले नगरबासीलाई कहर दिएको बताए । गएको असारदेखि नै पुर्व तयारी गरे पनि बाँध नै फुटाएकाले नगरवासीलाई आहत बनाएको उनले बताए । हाललाई जोखिममा परेकाहरुलाई सुरक्षित स्थानमा सारेर जनधनको क्षति हुनबाट रोक्ने काम भईरहेको छ ।

करिब दुई हजार परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने प्रदेश विपद् व्यवस्थापन समितिसमक्ष प्रभावित पालिकाका प्रमुखले जानकारी गराएका छन् । प्रदेश सरकारले प्रभावित परिवारलाई खाद्यान्न, टेन्टलगायत सामग्री सहयोग गर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए ।

स्थानीय पालिकाहरूले प्रभावित सारिने ठाउँको व्यवस्थापन गर्नेछन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी धीरेन्द्र यादवले तत्कालै दुई हजार परिवारलाई सार्नुपर्ने अवस्था रहेको जानकारी दिए ।

प्रदेश विपद् व्यवस्थापन समितिको बैठकमा बेलका नगरपालिकाका प्रमुख कार्कीले संघीय, प्रदेश र स्थानीय तहको सामूहिक प्रयासबाट तत्काल राहत तथा उद्धारको काम हुनुपर्नेमा जोड दिए । कोसीको भँगालो आज बिहान करिब ४ बजे उदयपुर, सप्तरी र सुनसरीका बस्तीतर्फ पसेको थियो ।

हेर्दा हेर्दै कोसीको भंगालो बस्तीमा
बेल्का नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार वर्षाले कोसी नदीमा पानीको बहाव बढेपछि पश्चिम बस्तीतिरको अस्थायी बालुवाको बाँधतर्फ कटान गर्न थालेको थियो । बाँध कटान तीव्र भएपछि स्थानीय सरकारदेखि केन्द्र सरकार नियन्त्रणका लागि प्रयास सुरु गरेको थियो ।

बेल्का नगरपालिका र सिँचाई विभागको संयुक्त लगानीमा सो ठाउँमा १५ दिन अघिमात्र १.५ मिटर उचाइँ र ६.५ मिटर चौडाईको ४५० मिटर लामो बाँध बाँधिएको थियो ।

कोसीमा पानीको बहाव बढ्दै जाँदा उत्तर पूर्वपट्टीको डुम्रीबोटेको त्रीकुटी बाँधको कटान बढ्न थाल्यो । कटान नियन्त्रण गर्न ढुंगा, बालुवा भरिएको बोरा, झांडी लगायतले छेक्ने प्रयास भयो तर, कटान भने रोकिएन ।

एक साताअघि प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसमेत यस कटान क्षेत्रको स्थलगत निरिक्षण गरेर निन्त्रणमा सहयोग गर्ने प्रतिवद्धता जनाएर फर्केका थिए । कोसी आयोजना भारतका प्रमुख मोरङ सुनसरी सिँचाई आयोजना प्रमुखले स्थलगत निरिक्षण गरी नियन्त्रणका प्रयास बढाउन भनेको थियो । नियन्त्रणका अनेकन प्रयत्न गर्दागर्दै पनि केही नलागेको बेल्का नगरपालिकाका अशोकको भनाई छ । ‘हेर्दा हेर्दै बाँध भत्केर कोसीको भंगालो बस्ती पस्यो । अहिले कटान क्षेत्र बेल्का नगरपालिकाको वडा नम्बर ८ जलमग्न भएको छ । अहिलेको अवस्था हेर्दा यहाँ कोसीको भंगालो मात्र होइन्, कोसी नदी नै पसिसक्यो’, उनले भनेका छन् ।

अहिले मौसम सफा भएकाले उद्धारका कार्य सजिलो भएकोले अहिलेसम्म ८ सय परिवारलाई डुबानक्षेत्रबाट सुरक्षित स्थानमा सारिसकेको उनको भनाई छ । अझै एक हजार परिवार डुबान क्षेत्रमै फसेका छन् । उनीहरुलाई सुरक्षित स्थानम उद्धार गर्नका लागि एपिएफ, नेपाली प्रहरी, सेनालगायतका टोली खटिएका छन् ।

अहिले कोसी नदीमा २ लाख २२ हजार ७४० क्युसेक पानीको बहाव रहेको कोसी ब्यारेज कन्ट्रोल कार्यालयले जनाएको छ । ५६ वटा ढोकामध्ये ३२ वटा ढोका खोलिएका छन् ।

प्रतिक्रिया सबै