८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

चुनाव घोषणालाई ओलीले गरे स्वागत

 बिहिबार, साउन १९ २०७९  

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका छन् । बिहीबार कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँग अन्तरक्रियामा ओलीले निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका हुन् ।

‘निर्वाचन घोषणा स्वाभाविक हो । यसमा देश जानुपर्छ भनेर हामीले भन्दै आएका थियौं,’ ओलीले भने । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमै निर्वाचन गर्ने निर्णय गरेको थियो । यसअघि निर्वाचन आयोगले ४ मंसिरमा एकै चरणमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो । सत्तारुढ पाँच दलीय गठबन्धनको बुधबारको बैठकले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गरेको थियो ।

नेपालको संविधान २०७२ जारी भएपछि २०७४ मा पहिलो आमनिर्वाचन भएको थियो । आगामी मंसिरमा हुन लागेको यो दोस्रो आमनिर्वाचन हो । सरकारको यो निर्णयपछि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोग निर्वाचनको तयारीमा जुटिसकेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया सबै