१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

चिनियाँको अपहरणमा न्यायाधीशका पीएसओ पनि संलग्नता

 बिहिबार, साउन १९ २०७९  

काठमाडौं । काठमाडौं उपत्यकामा चिनियाँ नागरिकको अपहरणमा एक न्यायाधीशका पीएसओको समेत संलग्नता रहेको पाइएको छ ।

पाटन उच्च अदालतका ती न्यायाधीशका पीएसओ रहेका प्रहरी हवल्दार चिनियाँ नागरिकको अपहरणमा संलग्न रहेको खुलासा भएको हो ।

प्रहरी हवल्दार कर्णबहादुर गुरुङ र अर्का एक प्रहरी जवानसहित ६ जना पक्राउ परेका हुन् । गुरुङसहित पक्राउ पर्नेमा लक्ष्मण गुरुङ, रोहित मगर, विशाल मगर, विनोद केसी र शिव सुनार रहेका छन् ।

प्रहरी जवान शिव सुनार प्रहरी वृत्त बालाजुमा कार्यरत रहेको खुलेको छ । काठमाडौंको लैनचौरबाट दोभासे सहित चिनियाँ नागरिकलाई उनको फ्ल्याटबाट अपहरण गरेर उनीहरुले गोंगबुको एउटा होटलमा बन्धक बनाएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गएराति चिनियाँलाई गोंगबुको एक होटलबाट उद्दार गरेपछि यसबारे खुलासा भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतका अनुसार अपहरणमा संलग्न ६ जनालाई पक्राउ गरिएको हो ।

चिनियाँ नागरिकलाई फ्ल्याटबाट ८ लाख नगद र २७ वटा मोवाइल लुटेर आरोपीहरुले गोंगबुमा लगेर बन्धक बनाएका थिए । उनीहरुले एक करोड फिरौती मागेको र ५० लाखमा अपहरण मुक्त गर्ने सहमति भएपछि चिनियाँ नागरिकको आफन्तको सहयोगमा प्रहरीले उनलाई अपहरण मुक्त गरेको बताइएको छ । आजै अभियुक्त हरुलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया सबै