१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

जापानमा नेपाल फेस्टिभल, कतिले गरे अवलोकन

 शुक्रबार, साउन २० २०७९  

काठमाडौं । जापानमा नेपाल फेस्टिभल मनाइएको छ । कोभिड महामारीको चुनौतीका बीच नेपाली भेषभूषा, नाचगान, मौलिक परिकारका साथ उत्सवका रुपमा नेपाल फेस्टिभल मनाइएको हो ।

राजधानी टोकियोको नाकानो शहरमा आयोजित फेस्टिभल यहाँ रहेको नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

फेस्टिभललाई सफल बनाउन जापानको सरकारी स्तरबाट साथ र सहयोग जुटेको थियो । फेस्टिभल उद्घाटन नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना रहेका थिए । उद्घाटन समारोहमा जापानको परराष्ट्र मन्त्रालयका सहसचिव स्तरका कर्मचारी र फेस्टिभल आयोजना स्थल नाकानो शहरका मेयरको समेत सहभागिता थियो । यस्तै फेस्टिभलमा टोकियोमा रहेका आधा दर्जन विदेशी नियोगका प्रतिनिधिहरू सहभागी थिए ।

फेस्टिभलमा नेपालको पर्यटन, मौलिक कला संस्कृति, सांस्कृतिक चिनारीका झाँकी, बाजागाजा, नृत्य, पोशाक खाना परिकारहरू प्रदर्शन गरिएका थिए । फेस्टिभलमा झण्डै दुई दर्जन नेपाली व्यवसायीको स्टल राखिएको थियो । फेस्टिभल अवधिभर निशुल्क स्वास्थ्य परामर्श शिविर समेत राखिएको थियो ।

राजधानी टोकियो र आसपासका प्रान्तसहित सबैभन्दा टाढाको ओकिनावा, होक्काइदोबाट समेत नेपालीहरु फेस्टिभलमा सहभागी भएका थिए । झण्डै १ लाखले फेस्टिभलको अवलोकन गरेको बताइएको छ ।

नेपालीबाहेक जापानी, बेलायती, अमेरिकी, भारतीय, श्रीलंकन, भियतनामी, चिनियाँ, अफ्रिकन तथा युरोपियन देशका जापानमा बस्ने दर्जनौं विदेशीहरुले फेस्टिभलको अवलोकन गरेका थिए । नेपालको भौगोलिक विविधता, कला संस्कृति, रितिरिवाजको प्रचार–प्रसार गर्ने उद्देश्यले जापानमा हरेक वर्ष नेपाल फेस्टिभल आयोजना गरिन्छ ।

 

प्रतिक्रिया सबै