१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

अशोक राई जसपाको पहिलो वरीयतामा

 शुक्रबार, साउन २० २०७९  

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालमा वरियताक्रमको पहिलो नम्बरमा अशोक कुमार राईलाई राखिएको छ । वरीयता वरिष्ठ नेताको रुपमा तेस्रो नम्बरमा रहेका नेता राईलाई केन्द्रीय कार्य समिति पुनर्गठन गर्दा एक नम्बरमा ल्याइएको हो । यसअघि डा. बाबुराम भट्टराईको वरीयता संघीय परिषद् अध्यक्षका रुपमा एक नम्बरमा थियो भने दोस्रो नम्बरमा अध्यक्ष उपेन्द्र यादवको वरीयता थियो ।

डा.बाबुराम भट्टराई पार्टी छाडेर गइसकेपछि सो ठाउँमा अशोक राईलाई ल्याइएको हो । पुनर्गठन गरिएको केन्द्रीय समितिमा वरिष्ठ नेतामा कसैलाई राखिएको छैन । यसअघि वरिष्ठ नेता रहेका राजेन्द्र श्रेष्ठलाई कार्यकारिणी समितिमा राखिएको छ ।

असार २९ गते बसेको वीरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकले डा. बाबुराम भट्टराईलाई पार्टीको संघीय परिषद्को अध्यक्षबाट हटाएर राईलाई मनोनयन गरिएको थियो । तर, पार्टीको विधानमा दुई अध्यक्षको व्यवस्था भएपनि यादवले केन्द्रीय समिति पुनर्गठन गर्दा एकजना अध्यक्ष मात्र राखेका छन् ।

पार्टीको विधान अनुसार दुईजना अध्यक्ष राख्नुपर्ने भन्दै डा. बाबुराम भट्टराईले पार्टीमा कुरा उठाएका थिए । त्यही विषयमा कुरा नमिल्दा डा.बाबुराम भट्टराई पार्टीबाट अलग भएका हुन् ।

जसपाका कार्यकारिणी सदस्य इस्तियाक राई पनि दुईजना अध्यक्ष हुनुपर्ने पक्षमा थिए । तर, भौतिक, पूर्वाधार तथा यातायात मन्त्री भए पछि उनी मौन छन् । यसैबीच आगामी निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन गरिएको छ । केन्द्रीय समितिको अध्यक्ष प्रमुख रहने सो बोर्ड १३ सदस्यीय रहेको छ ।

बोर्डमा प्रदेश १ बाट दिपक याख्खा, मधेश प्रदेशबाट बालकिशोर यादव, हरिनारायण यादव, गोविन्द चौधरी रहेका छन् । बागमती प्रदेशबाट लालबहादुर तामाङ, लुम्बिनी प्रदेशबाट सहसराम यादव, कर्णाली प्रदेशबाट वीरबहादुर शाही, सुदूरपश्चिमबाट हेमन्त माण्डव्य छन् । सो बोर्डमा संघीय परिषद्का अध्यक्ष, वरिष्ठ नेता तथा सहअध्यक्ष पदेन सदस्य रहने बताइएको छ । बोर्डको सदस्यहरुमध्येबाट प्रमुखले तोकेका व्यक्ति बोर्डको सचिव रहने छन् ।

त्यस्तै, प्रदेश समिति, तथा राष्ट्रिय समितिका अध्यक्षलाई सम्बन्धित प्रदेशको संघीय संसद र प्रदेशसभाको उम्मेदवार बारे निर्णय गर्दा संसदीय बोर्डको बैठकमा आमन्त्रित गर्नुपर्ने पार्टीले व्यवस्था गरेको छ ।

यस्तै, जसपाले अगामी संघ तथा प्रदेशसभाको चुनावलाई लक्षित गरी निर्वाचन तयारी अभियान समितिको सचिवालय गठन गरेको । आठ सदस्यीय सचिवालयमा प्रदेश १ बाट नवराज गुरुङ, मधेश प्रदेशबाट चन्देश्वर सदा, चन्देश्वर प्रसाद सिंह, बागमती प्रदेशबाट पञ्चलाल महर्जन, गण्डकी प्रदेशबाट शर्मिला थापा, लुम्बिनी प्रदेशबाट मनिकर कार्की, कर्णाली प्रदेशबाट बलिराज शाही र सुदूरपश्चिमबाट भीमबहादुर थापा छन् ।

प्रतिक्रिया सबै