८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

चुनावमा व्यावहारिक तालमेल र जित सुनिश्चित हुनुपर्ने कांग्रेस नेताहरुको निष्कर्ष

 सोमवार, साउन २३ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले सत्ता गठबन्धनबीचको चुनावमा व्यावहारिक तालमेल गर्नुपर्ने र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी तालमेलको लागि छलफल गर्न बालुवाटारमा बोलाएको बैठकमा कांग्रेस नेताहरुले विगतका चुनावमा पाएको मत र अबको सम्भावनालाई मध्यनजर गरेर तालमेलमा जानुपर्ने बताएका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार साना र पालिका चुनावमा निकै कम मत ल्याएका दलले अस्वाभाविक सिट दाबी गर्न सक्ने भन्दै नेताहरुले दलहरुलाई हैसियत अनुसारको सिट बाँडफाँट गर्नुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।

नेता विमलेन्द्र निधिले चुनावी तालमेलको लागि नेपाली कांग्रेस भित्र एक मत छ भनेर सन्देश दिनुपर्नेमा सबैको सहमति रहेको बताए । आउँदो मंसिरमा हुने सङ्घ र प्रदेशको चुनावको लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले बनाएको ५ दलका ११ जना नेता सदस्य रहेको कार्यदलको बैठक आजै बस्दैछ ।

सय सिट राखेर गठबन्धन गर्न सुझाव
यस्तै, कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुले सय सिट राखेर गठबन्धन गर्न सुझाव दिएका छन् । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले सय सिट राखेर मात्रै गठबन्धन गर्न सुझाव दिँदै सो सम्भव नभए गठबन्धन नगर्न पनि सुझाव दिएको एक नेताले बताए ।

‘कांग्रेसले सय सिट लिएर बाँकी सिट बाँड्दा मात्र गठबन्धन कसिलो हुन्छ भन्ने सुझाव आएको छ । हैन भने कांग्रेसको सिट व्यवस्थापन सम्भव हुँदैन । त्यसले गठबन्धनको सफलतामा पनि असर पार्छ भन्ने कुरा राखेका छौँ’ एक नेताले भने ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका तर्फबाट गठबन्धन कार्यलयमा रहेका सदस्यहरुलाई सुझाव दिनका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेको बताए । ०७४ सालको निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको मतलाई गठबन्धन निर्माणको आधार बनाउन सुझाव दिएको उनको भनाई छ ।

पार्टीका तर्फबाट सत्ता गठबन्धन कार्यदलका सदस्यहरुसँग छलफल थियो । सुझाव दिने क्रम जारी रहेको भन्दै अहिले प्रारम्भिक सुझाव भएकाले ठोस रुपमा यति नै सिट भनेर सुझाव नदिएको पनि उनले बताए ।

कांग्रेसले जनप्रतिनिधिलाई प्रशिक्षण दिने
नेपाली कांग्रेसले पार्टीबाट स्थानीय तह निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । कांग्रेसले यही साउनको ३० र ३१ गते काठमाडौंमै प्रशिक्षण कार्यक्रम आयोजना गरिने जनाएको छ ।

पार्टीका शीर्ष नेताहरूको बैठकले प्रशिक्षणको मिति तय गरेको हो । प्रशिक्षणमा कांग्रेसबाट निर्वाचित देशैभरका जनप्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ ।

यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई काठमाडौं बोलाएर प्रशिक्षण दिइसकेका छन् ।

प्रतिक्रिया सबै