११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

गठबन्धन गर्नुको कारण डर र कर दुवै हो : रामचन्द्र पौडेल

 आइतवार, साउन २९ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अहिलेको गठबन्धनमा डर र कर दुवै भएको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता र बाध्यता दुवै भएको बताएका हुन् ।

गठबन्धन गर्नुको कारणबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा नेता पौडेलले भने ‘गठबन्धन डर र कर दुवै हो, हामीहरुले गठबन्धन नगरे अरु दलले गर्छन् ।’

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धनका पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गर्ने निर्णय गरिसकेका छन् । उनीहरुले सिट बाँडफाँटका लागि कार्यदलसमेत गठन गरेका छन् ।

कांग्रेस नेता पौडेलले आगामी निर्वाचनका लागि भागबण्डा मिलाउने प्रयास भैरहेको जानकारी दिए । धरातलीय यथार्थका आधारमा भागबण्डा गरिने नेता पौडेलको भनाइ छ । पौडेलले गठबन्धनमा अरु दल थपिनेरनथपिने कुरा आफूलाई जानकारी नभएको बताए ।

आफू चितवनबाट निर्वाचन लड्ने कुरा गलत भएको भन्दै नेता पौडेलले तनहुँबाट नै चुनाव लड्ने संकेत गरे । चुनावपछि तपाईं प्रधानमन्त्री हुने हो भन्ने प्रश्नमा नेता पौडेलले अहिले नै प्रधानमन्त्री को बन्छ भन्ने कुरा टुंगो नलागेको बताए । उनले संसदबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले संसदमा फिर्ता पठाउन नहुनेपनि बताए ।

 

प्रतिक्रिया सबै