११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

सांसदहरू हाजिर गरेर बाहिरिँदा प्रतिनिधिसभामा विधेयक पारित गर्ने प्रक्रिया नै अवरुद्ध

 आइतवार, साउन २९ २०७९  

काठमाडौं । प्रतिनिधिसभाको बैठक सांसदहरूले हाजिर गरेर हिँडेपछि स्थगित भएको छ । सांसदहरूले हाजिर गरेर बाहिरिँदा प्रतिनिधिसभामा विधेयक पारित गर्ने प्रक्रिया नै अवरुद्ध हुन पुगेको हो ।

संसद् सचिवालय स्रोतका अनुसार बैठक प्रारम्भ हुँदा १७९ सांसदले हाजिर गरे पनि बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गर्दा भने ६७ सांसद मात्रै उपस्थित रहेका थिए ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक निर्णयार्थ प्रस्तुत गर्ने क्रममा ९० सांसद उपस्थित थिए । त्यसपछि भने सांसदहरू हाजिर गरेर बाहिरिएका हुन् ।

प्रतिनिधिसभाको आइतबारको बैठक १५ मिनेटसम्म स्थगित भएपछि पनि एक चौथाइ अर्थात् ६९ जना सांसद उपस्थित नहुँदा प्रतिनिधिसभा मंगलबारसम्मका लागि स्थगित भएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित गर्ने क्रममा सांसदहरूको गणपूरक संख्या अभावन भएको हो । उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्दा ६७ सांसद उपस्थित थिए । १५ मिनेट सभा बैठक स्थगित गरिएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेट बैठक स्थगित गर्दा पनि सांसदहरूको संख्या ६९ नपुगेपछि कार्यसूचीमा रहेका बाँकी बिजनेस सूचीबाट हटाएर बैठक नै स्थगित गर्नुपरेको हो ।

सभामुख सापकोटाले गणपूरक संख्या भन्दा २ सांसद कम रहेको भन्दै प्रतिनिधिसभा मंगलबार ११ बजेसम्मका लागि स्थगित गरेका हुन् । विधेयक वा प्रश्न संसद्‌मा निर्णयार्थ प्रस्तुत गर्नका लागि सम्पूर्ण संख्याको एक चौथाइ अर्थात् ६९ सांसद उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया सबै