२६ बैशाख २०८१, बुधबार Wednesday 8 May, 2024

चुनावपछि वृहत अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरणको गर्ने लक्ष्य छ : बाबुराम भट्टराई

 मङ्लबार, साउन ३१ २०७९  

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बृहत् अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरण गर्ने लक्ष्य रहेकोले नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेको बताएका छन् ।

माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार दुई पार्टीका शीर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेता भट्टराईले अहिलेको अवस्थामा छुट्टाछुट्टै भएर भन्दा एकताबद्ध हुनु आवश्यक रहेकाले नयाँ आधारमा एकताबद्ध भएर जाने बताए ।

उनले तत्काल माओवादीसँग चुनावी तालमेल गरेर अघि बढ्ने भन्दै चुनावपछि वृहत राजनीतिक ध्रुवीकरणको लक्ष्य रहेको दाबी गरे । ‘अग्रगामी परिवर्तनका एजेण्डा बाँकी छन् । एक्लैएक्लै लड्नु भन्दा मिलेर एकताबद्ध भएर जानुपर्ने आवश्यकता अनुसार तालमेल गरिएको हो’, नेता भट्टराईले भने- ‘बृहत् अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुविकरण गर्ने लक्ष्य हो ।’

आगामी आमनिर्वाचनमा नेसपाले माओवादी केन्द्रको चुनाव चिह्न ‘गोलाकारभित्रको हँसिया हथौडा’ लिएर चुनाव लड्ने तयारी गरेका भट्टराईले सत्ता गठबन्धनको मापदण्ड अनुसार आगामी चुनावमा तालमेल हुने पनि बताए । ‘हामी पनि गठबन्धनको एक अंग हौं, गठबन्धनको जे मापदण्ड बन्छ, त्यहीअनुसार हुन्छ’, उनले भने ।

यस्तै नेता भट्टराईले आफूहरू गठबन्धनकै अभिन्न अंग भएकाले कसैले गठबन्धनमा लिने वा नलिने भन्ने प्रश्न नरहेको बताएका छन् । भट्टराईले आफूहरू गठबन्धनमै रहेकाले सीट बाँडफाँटमा पनि गठबन्धनको मापदण्डभित्रै पर्ने दाबी गरे । ‘हामी गठबन्धनकै अंग हो । हामी गठबन्धनभित्रै हो । यसमा कसैलाई भ्रम नपरोस् ‘, उनले भने ।

पेरिसडाँडाको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेसपा अध्यक्ष भट्टराई, अर्का अध्यक्ष महिन्द्रराय यादव सहभागी थिए ।

मंगलवार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा सदस्य वामदेव गौतम र डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरुलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा सहभागी हुन पार्टीको चुनाव चिन्ह दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया सबै