९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

उपत्यकाको फोहोर उठ्न अझै एक साता लाग्ने

 शुक्रबार, भदौ ३ २०७९  

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थामा ठोस कार्ययोजना नहुँदा फोहोरमैलाले जनजीवन जटिल बन्दै जान थालेको छ । उपत्यकामा पुनः फोहोर थुप्रिएपछि उपत्यका कुरूप देखिनुका साथै महानगर दुर्गन्धित बनेको छ ।

सुरक्षाकर्मी तैनाथ गरेर बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न सुरु गरिए पनि स्थानीयवासीको अवरोधका कारण फोहोर व्यवस्थापन रोकिँदा काठमाडौँमा फोहोर थुप्रिन पुगेको हो ।

उपत्यकाबाट फोहोर बोकेको गाडीलाई अवरोध हटाउन बञ्चरेडाँडा क्षेत्रमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको थियो । स्यानिटरी ल्याण्डफिल साइट बञ्चरेडाँडामा फोहोर विसर्जनको अवरोध भने अव हटेको छ । तर, उपत्यकाको फोहोर उठ्न अझै एक साता लाग्ने भएको छ ।

सत्तारुढ दलका स्थानीय नेता नेतृत्वको आन्दोलनको अवरोध हट्दा फोहोर विसर्जनमा सहज भएको हो । स्यानिटरी ल्याण्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले आज बिहानै १६२ ट्रक फोहोर बञ्चरेडाँडामा विसर्जन भएको बताएका छन् । उनका अनुसार आज स्थानीयको अवरोध छैन । बिहानैदेखि फोहोरका ट्रक अनलोड भइरहेका छन् ।

काठमाडौं उपत्यकाको फोहोर उठ्न कम्तीमा एक साता लाग्ने महानगरपालिका नगरप्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए । पुनः स्थानीयले अवरोध नगरे एकसाता भित्रै सबै फोहोर उठिसक्ने उनको भनाई छ । काठमाडौं उपत्यकाका सडक, नदी, खोला किनारामा थुप्रिएको फोहोर सकिएपछि घरभित्रको फोहोर उठाइने उनले बताए ।

सत्तारूढ तीन राजनीतिक दलका स्थानीय नेताको नेतृत्वमा उपत्यकाको फोहोर सधैँका लागि बन्द गर्ने घोषणासँगै आन्दोलन चर्किएको थियो । अवरोधकैबीच बिहीबार २८४ टिपर फोहोर विसर्जन गरिएको थियो ।

बुधबार काठमाडौं, धादिङ र नुवाकोट तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच बाटोमा लिचेड चुहाउन नपाइने, जथाभावी फोहोर फाल्न नपाइने, दैनिक फोहोरलाई औषधि प्रयोग गरेर दुर्गन्धमुक्त बनाउने र पुराना मागहरू कार्यान्वयनमा ल्याउन चारबुँदे सहमति भएको थियो । तर, स्थानीय सत्तारुढ दल नेतृत्वको अवरोध हटेको थिएन । गएराति सत्तारुढ स्थानीय नेताहरूको सर्वदलीय बैठक बसेको थियो ।

स्थानीय प्रहरीको सुरक्षामा फोहोर अनलोड भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी रमेश पाण्डेको भनाई छ । ल्याण्डफिल साइटमा दुई समूहले भदौ १ गतेदेखि फोहोर फाल्न नदिन छुट्टा–छुट्टै आन्दोलनको घोषणा गरेका थिए ।

स्थानीय संघर्ष समिति श्रीराम ढुंगाना नेतृत्वको आन्दोलन सहरी विकास मन्त्रालयको निर्णयपछि फिर्ता भएको थियो । बुधबारदेखि यातायात व्यवसायी र टिपर व्यवसायीले सहयोग स्वरुप ३० वटा टिपरमा फोहोर उठाउन थालेका छन् ।

चालकलाई दैनिक एक हजारका दरले पारिश्रमिक दिने र टिपरमा पेट्रोल हालिदिने सर्तमा महानगरले थप १८ वटा टिपरबाट फोहोर ढुवानी गर्न थालेको छ । महानगरले भने आजदेखि अरु टिपरमा पनि फोहोर उठाइने जनाएको छ ।

 

प्रतिक्रिया सबै