९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

हर्क साम्पाङको स्थान फेरिएको हो, विचार फेरिएको होईन !

सौरभ आचार्य
 शनिबार, भदौ ४ २०७९  

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री र नेपाली कांग्रेसको भाषामा भन्ने हो भने महामानव बिपी कोइरालाले भन्थे- ‘जनता सहभागी नभएको विकास दिगो हुँदैन ।’ विकासमा जनताको सहभागिता गराउन सक्नुपर्छ ।

त्यस्तै कम्युनिष्ट प्रति आस्था राख्ने, कम्युनमा ठूलो शक्ति हुन्छ भनि सोच्ने कम्युनिष्टहरूले त जनताको सहभागिता विनाको विकास परिकल्पना समेत गर्न सक्दैनन् वा भनौ गरेका छैनन् । बिपीका अनुयायी नेपाली कांग्रेसका नेता कार्यकर्ताले होस् वा कम्युनिष्टहरुले, कसैले पनि आजसम्म जनतालाई विकाससम्म जोड्न सकेका थिएनन् । आज सम्म जनतालाई विकासको लागि श्रमसँग जोड्न सकेका थिएनन् । तर, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क साम्पाङ’ आफैमा एक यस्तो क्रान्ति बनेर आए जसले जनतालाई विकाससँग जोडे । जसले जनतालाई श्रमसँग जोडे ।

बिपीका अनुयायी र कम्युनिष्टहरुले पूरा गर्न नसकेको सैद्धान्तिक रूपमा समाजवादको पहिलो आधार हर्कले खडा गरे । पछिल्लो दिनहरूमा हर्क साम्पाङको सामाजिक सन्जालको अभिव्यक्तिहरुलाई लिएर एकाथरी मान्छेहरु निरन्तर हर्कको विरोध गरिरहेको छन् ।

हर्क साम्पाङको राजनीति यसपटकको धरानका मेयर पदको उम्मेदवारीबाट सुरु भएको पक्कै होइन । यस अघिको निर्वाचनमा अत्यन्त कम मत पाए पनि हर्कले धरान छोडेनन् । हर्कले परिवर्तनको लागि हर्क साम्पाङ शैलीको क्रान्ति छोडेनन् ।

उनी बोलिरहे, एक्लै थिए तर भ्रष्टाचार, विसंगति, सीमा अतिक्रमणविरुद्ध बोल्न छोडेनन् । कसैले सुनुन् वा नसुनुन् हर्कले गलतविरुद्ध बोलिरहे र काम भएको ठाँउमा प्रसंशा गरिरहे । बोल्नेक्रममा कयौँ अपमान खेपे तर बोल्न छोडेनन् र नछोडुन् पनि । हिजोको दिनमा जस्तो एउटा अटोमा माइक राखेर चोक चोकमा बोल्ने हर्कराज आज सामाजिक संजालमा बोलेको मात्र हुन् ।

स्थान फेरिएको हो शैली होइन । विचार फेरिएको होइन । उनको क्रान्ति फेरिएको छैन । मैले जानेको बुझेको हर्क साम्पाङ मात्र एउटा कुरा भन्छन् काम गर्नपर्छ, काम हुनुपर्छ । काम गर भनेर निर्देशन दिन पाइन्न । यसरी गर् भनेर नेतृत्व भएर देखाउनुपर्छ । काम नभएको ठाउमा हर्क निरन्तर आक्रमण गरिरहन्छन् र यसैले उनलाई ‘हर्क साम्पाङ अ रेभुलुशन’ बनाएको हो । त्यसैले उनले यो विचार फेर्नु हुँदैन। किनभने धरानले त्यो क्रान्तिकारी हर्क साम्पाङ रोजेका हुन् । उनलाई फेरिने छुट छैन । उनलाई परिवर्तन हुने छुट छैन । मात्र उनले परिवर्तन गर्न पर्छ र धरानको मात्र होइन, देशभरि धरानको साेंच फैलाउनु पर्छ र आशा छ उनले गर्छन् पनि ।

पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन माथिको टिप्पणीको आधारमा एउटा समुह हर्कको तिब्र आलोचनामा रमाई रहेका छन् । एउटा कुरा याद गर्नुभएको छ ? तपाईलाई तपाईंको उज्वल भविष्य देख्न चाहने तपाईका शुभ चिन्तकहरुले जति गाली गर्छन् त्यति गाली तपाईको वास्ता नगर्नेहरूले गर्दैनन् नि होइन ? हर्कले यदि बालेनको असफलता चाहेको भए हर्क रमाएर बस्थे बालेनलाई आलोचना गर्दैन थिए । असफल भइरहेको छ ठिक्क पर्यो खुच्चिङ भनेर बस्थे (राजनीतिक दलका नेता कार्यकर्ताहरुले जस्तै) । तर, हर्क बालेनको सफलता चाहन्छन् त्यसैले त काम गर काम गर भन्छन् । विस्तारै हुन्छ आत्तिनु हुँदैन समेत नभनी छिटो गर छिटो ढिलो भयो, उठ्न ढिलो भयो किन भन्थे हर्कले ? तर हर्क साम्पाङको विरोध गर्न त्यही समूह लाग्नु दुःखद मात्र होइन चिन्ताजनक पनि छ ।

अझ नेपाल सरकारको उच्च ओहदामा कर्मचारीको रूपमा काम गरिसकेका पूर्व सचिवको पोस्टहरु हेर्नुहोस् त हर्कको विरुद्ध । उनको चाहना के हो ? हर्कको विषयमा अनेक भ्रम फैलाएर उनी हर्कलाई असफल किन देखाउन चाहन्छन् ? किनभने उनले आफ्नो जीवनकाल र कर्मचारीको रूपमा काम गर्दा कहिले नचाहेको योजना हर्कले पूरा गर्दैछन् ।

जनतालाई विकासबाट टाढा राख्ने र देशको विकासको बजेटहरुको कमिसन खानेहरुलाई श्रमदान पटक्कै मन परेको छैन । मन पर्दैन पनि । कमिसनमा लिप्तहरुको त कुरै नगरौँ बालेन र उनको समुहले यस्तै अभिव्यक्ति दिदाँ कतै बालेन फेरिएको त होइनन् ? डर लाग्छ । सायद त्यही डर हर्क लाई पनि लाग्यो र उनले बारम्बार भनिरहे भनिरहनेछन् र भनीरहुन् । किनभने हर्क साम्पाङ फेरिएको हामी हेर्न चाहँदैनौ ।

 

सौरभ आचार्य, ईलाम नेपाल

प्रतिक्रिया सबै