९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही हुन्छ : प्रचण्ड

 सोमवार, भदौ ६ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् ।

पार्टीले अन्तर्घात छानबिनका लागि गठन गरेको समितिको प्रतिवेदन बुझ्दै प्रचण्डले पार्टी अनुशासन तोड्नेलाई कारबाही नगरे माओवादी कम्युनिस्ट पार्टीजस्तो नहुने बताए ।

‘अनुशासन तोड्नेलाई कारबाही नगर्ने हो भने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तो रहँदैन । यो छानबिन नगरी दोषीलाई कारबाही प्रक्रिया अघि नबढाई कम्युनिस्ट आन्दोलन, पार्टी पुनर्गठन अघि बढाउन सम्भव छैन’ अध्यक्ष प्रचण्डले भने ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न माओवादी केन्द्रले अनुशासन आयोगका संयोजक टंक राईको संयोजक, मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको समिति गठन गरेको थियो ।

अध्यक्ष प्रचण्डले अन्तर्घात छानबिन पार्टीको अनियमितता र गडबडी सच्याउने विषयसँग मात्र सम्बन्धित नभएको पनि बताए । अध्यक्ष प्रचण्डले भने- ‘कुनै खास ठाउँमा भएको अनियमितता र गडबडी सच्याउने कुरामा मात्र सम्बन्धित छैन पार्टीलाई विधिसम्मत र अनुशासनमा चलाउने र राम्रोलाई प्रोत्साहन गर्ने कुरासँग पनि सम्बन्धित छ ।’

अन्तर्घात छानबिन समितिको प्रतिवेदनमा के छ ?
काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भएका अन्तर्घात छानबिन गर्न नेकपा माओवादी केन्द्रले बनाएको छानबिन समितिले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको छ ।

सोमबार पार्टी कार्यालय परेसिडाँडमा आयोजित कार्यक्रममा संयोजक टंक राईले प्रतिवेदन बुझाएका हुन् । माओवादी केन्द्रको २५ असारको स्थायी समिति बैठकले राई नेतृत्वमा खिमलाल देवकोटा र मुक्ति प्रधान सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।

प्रचण्डल प्रतिवेदनमाथि पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने बताए । ‘पदाधिकारीका बीचमा पनि छलफल गर्नेछौं । जरुरी प¥यो भने स्थायी समितिमा पनि छलफल गरेर निर्णयमा पुग्छौं’, उनले भने ।

छानबिन समितिले प्रदेश १ को उदयपुर र ताप्लेजुङ, मधेशको महोत्तरी र सिरहा, लुम्बिनीको बर्दिया लगायतका जिल्लामा स्थलगत अध्ययन गरेको थियो ।

छानबिन समितिका संयोजक राईंले कसैलाई खेद्नका लागि नभई पार्टीलाई अनुशासित बनाउने गरी छानबिन गरेर प्रतिवेदन बुझाएको बताए । ‘मान्छेहरुलाई पार्टीबाट खेद्नका लागि होइन । पार्टीप्रति प्रतिवद्ध बनाउन, पार्टीमा अनुशासित ढंगले लाग्ने बनाउने दृष्टिकोणबाट हाम्रो छानबिन र निष्कर्षहरु केन्द्रित छ’, उनले भने ।

गल्ती गर्ने ठूला नेतालाई पनि कारबाहीको सिफारिस गरेको उनले बताए । पार्टी कमिटीहरु विधिसम्मत नचलेको, उम्मेदवार छान्दा व्यापक छलफल नभएको लगायतका कारणले अन्तर्घात भएको पाएको संयोजक राईको भनाई छ ।

माओवादी केन्द्रले स्थानीय चुनावका बेला विशेष गरी मधेश प्रदेशमा धेरै अन्तर्घात भएको बताउने गरेको छ । माओवादीले अन्तर्घातकै कारण देशभर ५० स्थानीय पालिकामा पराजय व्यहोर्नु परेको जनाएको छ ।

प्रतिक्रिया सबै