११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

सामुदायिक विद्यालयलाई शुल्क नलिन निर्देशन

 शनिबार, भदौ ११ २०७९  

काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले माध्यमिक तहसम्मको शिक्षामा सामुदायिक विद्यालयले शुल्क लिन नपाउने जनाएको छ ।

नगरपालिकाले विज्ञप्तिमार्फत सूचना सार्वजनिक गर्दै नेपालको संविधान २०७२ को धारा ३१ ले आधारभूत तहको शिक्षा अनिवार्य तथा निःशुल्क र माध्यमिक तहको शिक्षा निःशुल्क हुनेछ भन्ने व्यवस्था गरेकाले सामुदायिक विद्यालयहरुले कुनै पनि बहानामा शुल्क लिन नपाउने जनाएको हो ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख लिलबहादुर राउत क्षेत्रीद्वारा जारी विज्ञप्तीमा संविधानमा उल्लेख भएको व्यवस्था शिक्षा ऐन २०२८, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ र अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि नियमावली २०७७ कार्यान्वयनमा आइसकेकाले यसको ख्याल गर्न सामुदायिक विद्यालयहरुलाई आग्रह गरिएको छ ।

बुद्धभूमि नगरपालिकाको नगर कार्यपालिका बैठकले समेत सामुदायिक विद्यालयहरुले विभिन्न शिर्षकमा शुल्क उठाउने गरेको गुनासो अभिभावक तहबाट आएको भन्दै त्यसो नगर्न भनेको छ ।

सामुदायिक विद्यालयहरुलाई शुल्क नउठाउन आग्रह गर्ने नगर कार्यपालिकाको निर्णयनुसार नगरपालिकाले सबै सामुदायिक विद्यालयहरुमा शुल्क नउठाउन आग्रह गर्दै पत्राचार गरेको छ ।

यसअघि जिल्लाका शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयहरुलाई शुल्क नउठाउन आग्रह गरिसकेका छन् ।

प्रतिक्रिया सबै