९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

चुनाव लड्ने तयारीमा कुलमान घिसिङ

 बुधबार, भदौ १५ २०७९  

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मंसिर ४ मा हुने संघीय निर्वाचनमा लड्ने इच्छा देखएका छन् । कुलमानले काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने चर्चा चलिरहेको छ । त्यसका लागि कुलमान प्रतिनिधिसभा निर्वाचनमा लड्नका लागि माओवादीसँग निरन्तर छलफल गरिरहेका छन् ।

माओवादी केन्द्रका प्रस्तावित पोलिटब्युरो सदस्य महेश्वर दाहालका अनुसार कुलमानले माओवादीको तर्फबाट चुनाव लड्नका लागि आकांक्षा राखेको बताएका छन् । घिसिङले कहाँबाट चुनाव लड्ने भन्नेबारे चाहिँ छलफलकै क्रममा रहेको बताए ।

काठमाडौं ३ वा रामेछाप कहाँबाट उठ्ने भन्नेबारे पार्टीले निर्णय गर्न बाँकी रहेको दाहालको भनाई छ । घिसिङ गृहजिल्ला रामेछापमा पनि उनको प्रभाव राम्रो रहेको बताइन्छ ।

कुलमान माओवादीकै जोडबलमा दोस्रो कार्यकालका लागि विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक भएर गएका थिए । उनी कार्यकाल नसकिँदै प्राधिकरणबाट राजीनामा दिएर चुनाव लड्ने योजनामा लागेका हुन् । तर, कुमानले भने यसबारे बोलेका छैनन् ।

चर्को लोडसेडिङको मारमा देश रहेको बेला कुमानले लोडसेडिङमुक्त गरेपछि उनको लोकप्रियता ह्वात्तै बढेको थियो । शनिबार माओवादीको उपत्यका विशेष प्रदेश कमिटी बैठकमा अध्यक्ष प्रचण्डले काठमाडौंमा बालेन शाह भन्दा चर्चित उम्मेदवार खडा गर्ने बताएका थिए ।

प्रचण्डको भनाई अनुसार माओवादीले लोकप्रिय उम्मेदवार उठाएर काठमाडौंमा प्रभाव बढाउने रणनीति बनाएको बुझिन्छ । माओवादीको गत केन्द्रीय समिति बैठकमा सहरी क्षेत्रमा पार्टी कमजोर भएको भन्दै विशेष योजना बनाउनुपर्नेमा नेताहरुले नेतृत्वलाई सुझाव दिइरहेका छन् ।

कुलमानलाई काठमाडौंबाट उम्मेदवार बनाउन काठमाडौंका क्रियाशिल नेता, कार्यकर्ताले पार्टी अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् । कुलमानलाई उम्मेदवार बनाउन आफूहरूले सुझाव दिएको माओवादी केन्द्रका नेता अनिल शर्माको भनाई छ ।

आफु लगायत केही नेताहरुले कुलमानलाई काठमाडौंबाट उम्मेदवार बनाउँदा राम्रो हुने भनेको उनको भनाई छ । प्रचण्डले यो कुरालाई सकारात्मक ढंगले लिएको उनले बताएका छन् । कुलमानलाई काठमाडौं १, ३ र ५ मध्ये जुन क्षेत्रबाट उम्मेदवार बनाउँदा पनि हुने उनले बताएका छन् । त्यसका लागि हामी आफुहरु कुलमानलाई साथ दिन तयार रहेको उनले बताए ।

 

प्रतिक्रिया सबै