१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

देउवालाई ओलीले भने- भारत भ्रमणमा जाँदा लिपुलेक, कालापानी फिर्ता देऊ भन्नुपर्दैन ?

 बुधबार, भदौ १५ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रष्ट रुपमा भन्न नसकेको र उल्टै यी भू-भूभाग समस्याग्रस्त बताउने गरेको आरोप लगाएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा बुधबार आयोजना गरिएको पार्टीको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने- ‘प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुभयो । कसरी बोल्नभयो ? म्याउम्याउ म्याउ गर्नुभयो । लिपुलेक, कालापानी फिर्ता देऊ भन्नुपर्दैन ?, अलिपछि गठबन्धनको अर्को नेता जानुभो । उहाँले बोलेको त बाहिर सुनिने कुरै भएन । हामी यो पनि छोडिदिउँला, त्यो पनि छोडिदिउँला, केपी ओलीले सबै खाइदिने भो । खुस खुस, खुसखुस, प्राण बचाइदिनुपर्यो भन्नुभयो ।’

सत्तारुढ गठबन्धन तत्काल टुट्ने अवस्था नरहेको टिप्पणी गर्दै अध्यक्ष ओलीले गठबन्धन आफैं बनेको नभएर अरुले नै टाउको जोडिदिएको दाबी गरे । एमाले कञ्चनपुरले आयोजना गरेको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस लगायतका पार्टीबाट ठूलो संख्यामा नेता, कार्यकर्ता प्रवेश गरेका छन् ।

सत्तारुढ गठबन्धनमा नेताहरु देखिए पनि जनता भने एमालेमै रहेको जिकिर उनको थियो । गठबन्धन सरकार राष्ट्रियताको रक्षा, विकास र समृद्धिका पक्षमा काम गर्न नसकेर शक्ति राष्ट्रसामू निरिह बनेको आरोप ओलीको भनाई थियो ।

यस्तै ओलीले अगामी निर्वाचनमा १५० सिट जित्ने दाबी गरेका छन् । प्रत्यक्ष र समानुपातिकतर्फ गरेर एमालेले १५० सिट जित्ने उनले दाबी गरे ।

एमाले सत्ता बाहिर हुँदा समेत पार्टीमा प्रवेश गर्ने जनलहर बढेको उल्लेख गरेका ओलीले भने, ‘गठबन्धनले जिते देश हार्छ, विकास र समृद्धि हार्छ त्यसैले एमालेले जित्नुपर्छ । देशलाई जिताउने अभियानमा सबै सरिक हुनुस् । आउँदो चुनावमा हामी प्रत्यक्ष र समानुपातिक गरेर कम्तीमा १५० सिट जित्नेछौं र दुनिया चकित पर्नेछ ।’

 

प्रतिक्रिया सबै