९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

केपी ओली संघीयता विरोधी हुन् : अशोक राई

 बिहिबार, भदौ १६ २०७९  

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै संघीयता, धर्मनिरपेक्षता, समावेशिताजस्ता आन्दोलनका महत्वपूर्ण उपलब्धिहरुलाई फाल्ने पक्षमा रहेको बताएका छन् ।

जसपा जिल्ला समन्वय समिति पाँचथरले विहिबार फिदिममा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता राईले एमाले अध्यक्ष ओली नै संविधानको उपलब्धि फाल्ने पक्षमा रहेको बताएका हुन् ।

अहिलेको संविधानमा केही राम्रा चिजहरु पनि भएको तर ती चिजहरुलाई नै अहिले फाल्ने षडयन्त्र भइरहेको उनले बताए । ‘राष्ट्रिय राजनीति संकटमा छ, त्यो संकटको अभिव्यक्ति खड्ग ओलीले संसद भंग गरेर दिइसक्नुभो,’ नेता राईले भने, ‘उहाँले त्यो त्यतिकै मन लागेर भंग गरेको होइन । उनी संघीयताको विरुद्धमा छन् । संघीयतालाई बाख्राको टाउकोमा भैसीको सिङ भन्नुहुुन्छ, पहिचानलाई गुन्द्रुकको झोल काम लाग्दैन भन्नुहुन्छ, समावेशितालाई बाटोमा हिड्दै गरेकोलाई समातेर राज्य चलाउन दिन मिल्छ ? भन्नुहुुन्छ ।’

नेता राईले संविधानमाथि हिजो आन्दोलनमा सहभागी दलबाटै खतरा रहेको बताए । संविधानको उपलब्धि मास्नका लागि देशभित्र मात्रै नभएर देशबाहिरको शक्ति पनि लागिरहेकोले अबको मंसिरको निर्वाचनमा जनताले विचार पुर्याउनुपर्ने बताए ।

सो क्रममा उनले पार्टीबाट डा. बाबुराम भट्टराई वैचारिक सैद्धान्तिक विषय नभएर नेताहरुको स्वभाव मिलेन भनेर अलग भएको बताए । तर भट्टराईले गलत समयमा गलत कदम उठाएको उनको भनाइ छ ।

जसपाबाट हेमराज राई अलग भएको विषय भने भिन्दै रहेको उनले बताए । ‘हेमराजजी चाहिँ वैचारिक रुपमै विचलित हुनुभो र उहाँको विचार ठ्याक्कै एमालेसँग मिल्यो र अहिले एमालेमा प्रवेश पनि गरिसक्नुभो’, उनले भने ।

कार्यक्रममा जसपाकी केन्द्रीय कार्यकारिणी सदस्य शुशीला श्रेष्ठले उत्पीडित समुदायमाथि राज्यले गरिरहेको विभेद र असमानतालाई बुझेर सोका विरुद्ध अघि बढ्नुपर्ने बताइन् । उनले भनिन्, ‘हामीले ठिक र बेठिक छुट्याएर अगाडि बढ्नुपर्छ । साचो कुरालाई अगाडि लिएर समृद्ध देश बनाउन लाग्नुपर्छ ।’

उनले समाजको पुरानो खालको गलत मान्यतालाई परिवर्तन गरेर सबै समुदायको नेतृत्व गर्न सक्ने गरी पार्टी निर्माणमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिइन् ।

प्रतिक्रिया सबै