८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

डेंगुबाट कसरी बच्ने ?

 मङ्लबार, भदौ २१ २०७९  

काठमाडौं । पछिल्लो समय नेपालमा पनि डेंगुका बिरामीको संख्या निरन्तर बढिरहेको छ । केही मानिसको त मृत्यु पनि भइसकेको छ । समयमा नै यसको पहिचान गर्न सके यसको बचाउ तथा उपचारमा सहयोग मिल्ने चिकित्सकहरु बताउँछन् ।

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले मानिसलाई टोक्दा यो रोग लाग्छ ।

धेरैजसो डेंगुको लक्षण सामान्य फ्लु वा भाइरल ज्वरोसँग मिल्दोजुल्दो हुन्छ । त्यसैले निम्न लक्षण देखिएको अवस्थामा सतर्क हुँदै डेंगु परीक्षण गराउनु जरुरी हुन्छ–

— मांसपेशी तथा जोर्नी दुख्नु
— शरीरमा देखिने रातो धब्बाहरु एकपटक निको भएपछि पुनः देखिनु
— ज्वरो
— टाउको दुख्नु
— आँखाको भित्री भागमा दुख्नु
— बान्ता हुनु र रिँगटा लाग्नु

यस्ता कुनै पनि लक्षण देखिएको अवस्थामा तत्कालै डाक्टरको परामर्श लिनु राम्रो हुन्छ । चिकित्सकले मात्र डेंगुको उपचारबारे राम्रो सल्लाह दिन सक्छन् ।

यसबाट कसरी बच्ने
यो रोगबाट बच्ने सबैभन्दा राम्रो उपाय लामखुट्टेबाट बच्नु हो। त्यसैले लामखुट्टेबाट बच्ने केही उपाय यहाँ उल्लेख गरिएको छ ।

सरसरफाइमा ध्यान
आफ्नो बस्ने ठाउँको वरपरका स्थान सधैं सफा राख्नुपर्छ । सरसफाइबाट नै लामखुट्टेलाई टाढा राख्न सकिन्छ ।

पानी जम्मा हुने स्थान पुनुर्पछ
पानी जम्ने स्थानमा लामखुट्टे जम्मा हुने र त्यहाँबाटै डेंगु फैलिने जोखिम बढी हुन्छ । लामो समयदेखि प्रयोग नगरिने भाँडोमा राखिएको पानी बेलाबेलामा फेरिरहनुपर्छ । गमलामा राखिएको पानी पनि प्रत्येक साता बदल्ने बानीको विकास गर्नुपर्छ । मेनहोल, सेफ्टिक ट्यांक, बन्द भएको नालीजस्ता ठाउँको नियमित परीक्षण गरिरहनुपर्छ ।

जाली तथा लामखुट्टे भगाउने धुपको प्रयोग
लामखुट्टेबाट बच्न सबैभन्दा पहिला घरबाहिर निस्किँदा लामखुट्टेबाट बचाउने क्रिम प्रयोग गर्ने र सुत्नुअघि झुल लगाउने वा लामखुट्टे भगाउने धुपको प्रयोग गर्ने गर्नुपर्छ । घरका झ्याल ढोकामा जाली लगाउनाले पनि लामखुट्टेको प्रकोपबाट बच्न सकिन्छ ।

प्रारम्भिक लक्षणलाई बेवास्ता गर्नु हुन्न
डेंगुको कुनै पनि लक्षण देखिए त्यसलाई बेवास्ता नगरी तत्काल चिकित्सकको सम्पर्कमा जानुपर्छ र उनीहरुको निर्देशन पालना गर्नुपर्छ।

कसरी गर्ने उपचार
अहिलेसम्म डेंगुको कुनै विशेष उपचार छैन। डेंगु लागेको बिरामीले आराम गर्ने, प्रशस्त तरल पदार्थ सेवन गर्ने र चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ । बिरामीको अवस्थाअनुसार चिकित्सकले बिरामीलाई घरमा आराम गर्ने, अस्पतालमा भर्ना गर्ने वा तत्कालै अन्य कतै रिफर गर्ने वा इमर्जेन्सीमा पठाउने गर्न सक्छन् ।

डेंगुका बिरामीमा देखिने मांशपेशी दुखाइ तथा ज्वरोको लागि पारासिटामोल वा पेनकिलरजस्ता औषधि खान सकिन्छ । तर, आईबुप्रोफिन तथा एस्पिरिनजस्ता औषधि भने बिरामीलाई खुवाउनु नहुने चिकित्सकहरुको भनाई छ ।

 

प्रतिक्रिया सबै