८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

आजीवन पहिचानको आन्दोलनमा रहनेछु : अध्यक्ष राई

 बुधबार, भदौ २२ २०७९  

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले दुई चार जना निर्णयकर्ता शासकहरुले दमन गर्न खोज्दैमा पहिचानको आन्दोलनदेखि हच्किएर भाग्न नहुने बताएका छन् । जसपा जिल्ला समन्वय समिति झापाले मंगलबार विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष राईले आफु आजीवन पहिचानको आन्दोलनमा रहने पनि बताए ।

‘दुईचार थान निर्णयकर्ता शासकहरुले दमन गर्न खोज्दैमा हच्किएर भाग्ने अथवा यो विचारै गलत भनेर ठान्नेभन्दा अर्को केही भ्रम हुन सक्दैन । यसमा हाम्रो पार्टी दृढ रहन्छ । म तपाईंहरुसँग आजीवन पहिचानको आन्दोलनमा साथ रहन्छु, यसमा कुनै किसिमको दुविधा नपाल्नुहोला’, अध्यक्ष राईले भने ।

अध्यक्ष राईले पहिचानको मुद्धा साम्प्रदायिक वा जातिवादी नभएको भन्दै आफु आजीवन पहिचानको आन्दोलनमा रहने बताए । उनले संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको आदिवासी जनजातिहरुको अधिकारसम्बन्धी घोषणापत्रमा उल्लेख भएका विषय नै आफुहरुले उठाएको पनि बताए । ‘हाम्रो मुद्धा कुनै नेपालका नेताहरुले रहर गरेर उठाएको होइन, संयुक्त राष्ट्रसंघको महासभाले आदिवासी जनजातिहरुको अधिकारसम्बन्धी घोषणापत्र पारित गरेको छ सन् २००७ मा । त्यो घोषणापत्र पारित गर्दा नेपाल सरकारले पक्षमा भोट हालेको छ, विपक्षमा होइन,’ उनले प्रश्न गरे, ‘अहिले नेताहरुले सामान्य जनतालाई भ्रम फैलाएर झुटो कुरा गरेर हुन्छ ? हामीले आदिवासी जनजातिहरुको अधिकारसम्बन्धी घोषणपत्रमा उल्लेख भएको भन्दा बढी के मागेका छौं ?’

उनले आफुहरुको आन्दोलनमा संयुक्त राष्ट्रसंघदेखि विभेदका विरुद्धमा लडिरहेको विश्वसमुदाय नै रहेको बताए । ‘संयुक्त राष्टसंघमा गएपछि लुरुक्क परेर हुन्छ भनेर भोट हाल्ने, घोषणापत्र पास गर्ने, अहिले आएर नेपाली जनताको बिचमा यो साम्प्रदायिकता हो, यो जातिवाद हो, योचाहिँ हुन सक्दैन भन्ने ?,’ पहिचानको विरोध गर्नेहरुलाई लक्षित गरी उनले भने, ‘त्यसो भए त सबभन्दा पहिले संयुक्त राष्टसंघलाई जातिवादी भन्नुपर्यो, अनि नेपाल सरकारलाई जातिवादी भन्नुपर्यो ।’

उनले दश प्लस एक प्रदेश, पहिचान, संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता, समानुपातिक निर्वाचन प्रणाली, कार्यकारी राष्ट्रपतीय शासन प्रणालीजस्ता विषय छोड्नै नसकिने प्रष्ट पारे । ‘यिनै कुरा अरु पार्टीहरुले मानेनन्, कांग्रेसले मानेन, कम्युनिष्ट पार्टीले मानेन, त्यसकारण हामीले यो पार्टी गठन गरेको हो,’ उनले भने, ‘हामीले पनि यो छोडिदिने हो भने त तपाईंहरुले यो पार्टी समाएर बसिराख्नुपर्ने आवश्यक्ता नै छैन ।’ उनले हेमराज राईले पार्टी छोड्नु अवसरवादी व्यक्तिगत कुरामात्रै रहेको बताए ।

‘कोही साथीहरुको फरक व्यक्तिगत कुरा हो । कसैले यो त गलत कुरा बोकिएछ भन्नुहुन्छ । अनि हिजोअस्ती उम्मेदवार बन्दाचाहिँ गलत देख्नुभएन । उम्मेदवार बनेर राष्ट्रियसभामा जित्नुभएको भए के गर्नुहुन्थ्यो ? त्यो गलत चिज बोकेर हिड्नुहुन्थ्यो कि राष्ट्रियसभाबाट राजीनामा दिएर हिड्नुहुन्थ्यो ?,’ हेमराज राईको नाम नलिइकनै उनले भने-‘त्यसकारण यस्तो जालेमाले कुराको फेरोमा हामी पर्नुहुँदैन । हामी निरन्तर लागिरहनुपर्छ । जित लागिरहनेहरुकै हुन्छ, हार्नेहरुको हुँदैन । इतिहास लाग्नेले बनाउँछ, भाग्नेले होइन ।’

सो क्रममा उनले पाँच दलीय सत्ता गठबन्धनसँग सिट बाँडफाँडमा आपूmहरुले तीनवटा विकल्प दिएको पनि बताए । पहिलो विकल्पमा १६५ संघ र ३३० प्रदेशको निर्वाचन क्षेत्र गरी ४९५ सिटमै चित्तबुझ्दो ढंगले बाँडफाँड गर्ने, दोस्रोमा संघमा सिट बाँडफाँड गर्ने र प्रदेशमा प्रतिस्पर्धा गर्ने र तेस्रोमा आफूहरुलाई जति सिट अरुले छोड्छ त्यति नै सिट आपूmहरुले पनि छोडेर गठबन्धन गर्ने विकल्प दिइएको उनले बताए ।

‘तीनवटा विकल्पमध्ये कुनमा यहाँहरु सहमत हुनुहुन्छ, हामी त्यो विकल्पमा जान तयार छौं भन्ने कुरा हामीले गरेका छौं,’ उनले भने, ‘उहाँहरुले होइन सबै ४९५ मै मिलाउने हो, अरु विकल्प अहिलेलाई नगर्नुस् भन्नुभएको छ ।’
कार्यक्रममा जसपा केन्द्रीय कार्यकारिणी सदस्य सुशीला श्रेष्ठ, राजनीतिक समिति सदस्य तथा किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, राजनीतिक समिति सदस्य निर्मला तावा लिम्बू, राजनीतिक समिति सदस्य नित्यनन्द ताजपुरिया, केन्द्रीय सदस्य राधा थापालगायत नेताहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया सबै