९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

चिनियाँ नेता ली चान्सु नेपाल आउँदै, सुरक्षा जिम्मा कर्णेलको कमान्डमा नेपाली सेनालाई

 आइतवार, भदौ २६ २०७९  

काठमाडौं । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु सोमबार नेपाल आउँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टीमा तेस्रो वरीयताका उनी तीन दिनका लागि नेपाल भ्रमणमा आउन लागेका हुन् ।

उनको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । नेपाल सरकारले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनमा तीन दिने शोक घोषणा गरेका बेला चिनियाँ नेताको औपचारिक भ्रमण हुन लागेको हो ।

उनी सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउँदेछन् । लीको सबै राजनीतिक भेटघाटको कार्यक्रममा संसद भवन नयाँबानेश्वरमा हुने भएको छ ।

उनी करिब सयजनाको टोलीसहित आउन लागेपछि नेपाली सेनाका कर्णेल (प्रमुख सेनानी) को कमान्डमा सुरक्षा बन्दोबस्त गर्न सुरु गरिएको हो ।

स्रोतका अनुसार सेनाले सुरक्षाका लागि संसद भवन नयाँबानेश्वरमा पनि विशेष तयारी थालेको हो । सरकारले भने कर्णेलको नेतृत्वमा खटिने सेनाको टोलीबारे विस्तृत खुलाएको छैन । सेनासँगै सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि तैनाथ हुने बताइन्छ ।

नेपाल आएकै दिन भदौ २७ गते ली र सभामुख सापकोटाबीच दिपक्षीय वार्ता हुनेछ । त्यही दिन लीको सम्मानमा सापकोटाले रात्रिभोज दिनेछन् ।

परराष्ट्रका अनुसार चिनियाँ प्रभावशाली नेता लीले २९ गते राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग २८ गते सिस्टाचार भेट गर्ने कार्यक्रम छ ।
२८ गते नै लिको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता हुनेछ ।

परराष्ट्रले जनाए अनुसार नेपाल आएको भोलिपल्ट चिनियाँ जनकंग्रेस अध्यक्षले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बेग्लाबेग्लै भेट्ने तय भएको हो ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले पनि चिनियाँ नेता रुस, मङगोलियापछि नेपाल आउन लागेको नेपाल भ्रमण सकेर लि ३० गते दक्षिण कोरिया पुग्ने जनाएको छ ।

प्रतिक्रिया सबै