९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

मजदुरहरुको ढुकढुकी ‘चे ग्वेभारा’को रोचक जीवन

 सोमवार, भदौ २७ २०७९  

काठमाडौं । विश्वक्रान्तिका नायक ‘चे ग्वेभारा’ अर्जेन्टिनामा जन्मिएका हुन् । क्यूवामा क्रान्ति सम्पन्न गरी बोलिभियाको जंगलमा शहादत प्राप्त गर्ने क्रान्ति नायक चे ग्वेभारा विश्वका श्रमजीवी मजदुरहरुको ढुकढुकी हुन् । विश्व साम्राज्यवादसँग लडेर दुनियाँभर कम्युनिस्ट शासन स्थापना गर्ने महान उद्देश्य बोकेर उनी बोलिभिया पुगे । अदम्य शाहसका धनी चेको त्यहीँ हत्या भयो । तिनै महान विश्व क्रान्तिका नायक ‘चे ग्वेभारा’को जीवन कस्तो थियो त ?

परिवारका तेते कसरी बने ‘चे’ ?
अर्जेन्टिनाको एक मध्यम वर्गीय परिवारमा चेको जन्म सन् १९२८ जून १४ मा भएको थियो । पेशाले उनका बुवा इन्जिनियर थिए । उनको जन्म स्पेनिस र आइरिस रक्तमिश्रित परिवारबाट भएको थियो । उनको जन्मको नाम अर्नेष्टो ग्वेभारा डे ला सेर्ना थियो । परिवारमा उनलाई तेते भनेर बोलाउँथे । पछि उनले आफ्नो नाम बदलेर चे राखे । चेको अर्थ अर्जेन्टिनी भाषामा ‘हाम्रो’ भन्ने हुन्छ ।

उनको परिवार शिक्षित र सुसंस्कृति पनि थिए । परिवारबाट उनले न्यायप्रतिको प्रेम, फाँसीवादप्रति घृणा, धार्मिक सहिष्णुता, साहित्यप्रति रुची राख्ने, आर्थिक उपार्जनलाई ध्यान नदिने जस्ता संस्कारहरु सिके । ग्वाटेमालाको राजनीतिक दुर्घटनापछि चे मेक्सिकोमा गएर माक्र्सवादको गहिरो अध्ययन गर्न थाले । मार्क्स र लेनिनका सम्पूर्ण रचनाहरुदेखि छापामार युद्धका कला-कौशलसम्म अध्ययन गर्न भ्याए ।

शिक्षकको नजरमा मूढी र अनुशासनहिन
चे ग्वेभाराको शिक्षा दिक्षा सहज हुन सकेन । उनी दुई वर्षको उमेर मै दमको दीर्घ रोगी भए । अन्य बालकको जस्तो चे को स्कुल जीवन हुन सकेन । उनले ओच्छ्यानबाटै अध्ययनको थालनी गरे । भनिन्छ, उनको व्यवहार किशोर हुँदा युवाको जस्तो, युवाहुँदा परिपक्क प्रौढ जस्तो थियो । उनी आत्मविश्वासी, बहुआयामिक र विद्रोही स्वभावका थिए । शिक्षकको नजरमा मूढी, अनुशासनहिन तर अध्ययनशील थिए । अल्टा ग्रेसियाको स्कुले जीवन सकेर सन् १९४१ मा १३ वर्षको उमेरमै उनले डिन फ्यूनस स्टेट कलेजमा अध्ययन गरेका थिए ।

४ वर्षको कलेज अध्ययन सकेर राजधानी ब्यूनस आयर्सको यूनिभर्सिटीमा मेडिकल विभागमा डाक्टरीको लागि उनी गए । तर, उनको परिवारको चाहाना भने इन्जिनियर बनाउने थियो । क्यान्सर रोगबाट आफ्नी हजुरआमाको मृत्यु, आमाको क्यान्सरसँगको युद्ध र आफ्नै दम रोगका कारण उनी डाक्टरी पढ्नतिर लागे । उनले ६ वर्ष लामो विश्वविद्यालयको पाठ्यक्रम ३ वर्षमै पूरा गरे । उनले अध्ययनको क्रममा राम्रो नम्बर ल्याउनतिर कहिल्यै सोचेनन् ।

साइकलिङ गरेरै देशको कुनाकुना पुगे
उनी यात्रा गर्न औधी रुचाउँथे । अध्ययनको क्रममै उनी साइकलिङ गरेर देशको कुनाकाप्चा पुगेका थिए । स्वास्थका कारण भौतिक शरिर एकदमै जीर्ण देखिए पनि आत्मविश्वासका कारण देशविदेशको भ्रमण गर्न कहिल्यै छाडेनन् । पढन्ते र घुमन्ते स्वभावका उनी घुम्दा घुम्दै माक्र्सदेखि फ्रायडसम्मका पुस्तकहरु अध्ययन गर्न भ्याए । चिकित्सा क्षेत्रको शिक्षाको क्रममै उनी पूरै ल्याटिन अमेरिकाको अधिकांश स्थानमा पुगे ।

यात्राको क्रममा पूरै महाद्वीपमा व्याप्त गरीबीले उनको हृदयमा नराम्रो गरी चोट पुर्यो । उनले गम्भीर भएर सोँचे । शारिरीक रोगको जैविक कारणको त उपचार गर्न सकिन्छ तर सामाजिक, आर्थिक र राजनैतिक कारणको उपचार कसरी सम्भव होला रु यो जटिल प्रश्न उनको जीवनमा यक्ष प्रश्न बनेर आईदियो ।

उनको डाक्टरी जीवनमाथि नै प्रश्न चिन्ह बनेर खडा भयो । डाक्टर बनेर दिनदुःखीको सेवा गर्ने उद्देश्य राखेका चे अब गरीवी असमानताका सामाजिक राजनैतिक कारणहरु खोज्नतिर लागे । गाउँ-गाउँ, विभिन्न वस्ती-वस्ती पुगे । उनी उनले देखे, पैसाको अभावमा उपचार गर्न नपाएका गरीवहरु । भोक, पीडाले पशु समान जीवन बाँच्न विवस मानिसहरु, अभाव र गरीवीकारण बाबुहरु स्वयम् आफ्ना सन्तानको मृत्युको कामना गरिरहेको दर्दनाक दृष्यहरु समेत देखे । ड्राइभरका दुखद जिन्दगीहरु देखे । भरियाका कथाहरु सुने । चिलीका खानीहरुमा पुगे । अमेजन जंगलका रेड-इण्डियन आदिवासीहरुको वस्तीदेखि पेरुका खेत-खलिहानसम्म पुगे ।

अन्तमा उनले निष्कर्ष निकाले ‘गरीबी र आर्थिक विषमताको मुख्य कारण पूँजीवाद, नवउपनिवेशवाद र साम्राज्यवाद हो ।’ जसबाट छुटकारा पाउने एकमात्र उपाय हो ‘क्रान्ति’ उनले भनेका छन् ‘मैले यात्रा गरेका देशरुको स्थिति हेरेर, त्यहाँको गरीवी र भोग रोकको निकट र जीवन्त सम्पर्कले ममा परिवर्तन ल्याउन थाल्यो । मैले यात्राको क्रममा पत्ता लगाएँ, स्रोत र साधनको अभावमा रोगी बच्चाहरुको उपचार गर्न म असमर्थ छु । मैले देखेँ- निरन्तर दमनका कार्यहरु जारी छन् । कुपोषणको आँधी चल्दैछ । यसै क्रमा मैले महसूस गर्न थालेँ, अनुन्धानकर्ता हुन मेडिकल साइन्समा योगदान दिन वा जनतालाई राहत दिन डाक्टर बन्नुभन्दा पनि महत्वपूर्ण कुरो हो- क्रान्तिकारी बन्नु ।’

बोलिभियामा जीवन
त्यसपछि उनी १९५३ मा डाक्टरी पेशा छाडेर बोलिभियाको यात्रामा निस्किए । बोलिभियामा त्यसबेला पूँवीवादी सुधारवादी सरकारबाट राष्ट्रको टिन खानीलाई राष्ट्रिकरण गर्ने, जमिनहरु आदिवासी किसानहरुमा वितरण गर्ने सुधारवादी कार्यहरु भइरहेका थिए । त्यसले चे ग्वेभारालाई थप बल मिल्यो । चे विशेषज्ञहरुले भनेका छन्- ‘बोलिभियाले चेको जीवनमा क्रान्तिकारिता भर्नेदेखि लिएर चेको जीवनको अन्तिम संघर्ष गर्ने प्रेरणा दिएको थियो । उनको जीवनको शुरु र अन्य बोलिभिया मै भएको थियो ।’

बोलिभियाको क्रान्तिपछि गएर सुधारवादी बाटोतर्फ खस्दै जान थालेपछि चे चिन्तित भए । उनले ल्याटिन अमेरिकाका मुक्तिदाता सिमोन बोभिभारको शालिक अगाडि उभिएर बोलिभियाको सुधारवादको विरोध गर्दै भाषण गरे । त्यसपछि उनी ट्रकमा चढेर पेरुको आदिवासी क्षेत्र तर्फ लागे । त्यसपछि उनी ग्वाटेमाला पुगे । ग्वाटेमालाको सुधारवादी सरकारको कारण उनी अर्जेन्टिनाको दूतावासमा दुई महिना शरण लिन पनि बाध्य भए । ग्वाटेमालाको राजनीतिक दुर्घटनापछि चे मेक्सिकोमा गएर मार्क्सवादको गहिरो अध्ययन गर्न थाले मार्क्स र लेनिनका सम्पूर्ण रचनाहरुदेखि छापामार युद्धका कला-कौशलसम्म अध्ययन गर्न भ्याए ।

क्यूबाली डाक्टरसँग भेटेपछि…
मेक्सिकोमा रहँदै गर्दा जून १९५५ मा उनको एक जना क्यूबाली डाक्टरसँग भेट भयो । क्यूवालीहरुमध्ये एक थिए निको लोपेज । जोसँग ग्वाटेमालामा हुँदा उनीहरुको भेट भएको थियो । निकोले चेलाई फिडेल क्यास्त्रोको नेतृत्वमा क्यूबामा भईरहेको क्रान्तिबारे सविस्तार भने । कुराकानीको क्रममा क्यूबामा शसस्त्र संघर्ष छेड्ने तयारी भइरहेको भन्ने चेले थाहा पाए । त्यसपछि फिडेल क्यास्त्रोका भाई राउल क्यास्त्रोसँग केही दिनपनि चेको भेट भयो । राउलबाट अझ बढि क्यूबामा भइरहेको क्रान्तिबारे चेले थाहा पाए । पछि उनको फिडेल क्यास्त्रोसँग भेट भयो । त्यसपछि एक अर्जेन्टिनी नागरिक क्यूबाको मुक्ति आन्दोलनको सेना बनेर युद्धमा होमिए । उनी मन्त्री पदमा बसी रहेनन् । फिडेल क्यास्त्रोलाई धेरै महत्वपूर्ण सहयोग गरे । सारा विश्व घुमेर क्यूबाको समाजवादको लागि अन्तर्रािष्ट्रय समर्थन जुटाइरहे। अन्तत उनी मन्त्री पद त्यागेर निस्किए कङ्गो तर्फ ।

हत्याको ४७ वर्षपछि भेटियो चेको शव !
उनी पुगे १९६५ मा कङ्गो । जहाँ उनले क्रान्तिकारी विचार प्रवाह गरे । त्यसपछि बोलिविया पुगे । बोलिभियाको जनताको मुक्तिका लागि लड्दा लड्दै उनी पक्राउ परे । पछि उनको ९ अक्टोबर १९६७ हत्या भयो । हत्यापछि पनि चेको शव गुमनाम बनाइयो । पछि ४७ वर्ष पछि मात्र सार्वजनिक भएको थियो ।

२८ वर्षपछि चेको हत्यामा सम्लग्न रिटायर्ड बोलिभियाली सैनिक जनरल मारियो भर्गासले ठूलो आँटका साथ भने- ‘चेलाई अत्यन्त गोप्य रुपमा गाडिएको बेला म प्रत्यक्षदर्शी हुँ । चे सम्बन्धी रहस्य म अब खोल्छु ।’ उनकै सहयोगमा कयौं पटक अस्थिपञ्चर उत्खनन गर्ने कार्यहरु भए । आज चेका सम्बन्धि कयौं पुस्तकहरु उपलब्ध छन् । उनकै क्रान्तिकारी जीवनसँग सम्बन्धित चलचित्रहरु निर्माण भएका छन् । उनको यात्रासँग सम्बन्धित मोटर साइकल डायरीको चलचित्र बनेको छ । गुरिल्ला युद्धको नियमहरु प्रकाशित छन् ।

आज क्यूवाको सान्ता क्लारा शहरको बीचमा चेले बन्दूक उठाएको २३ टन तौल भएको भव्य शालिक निमार्ण भएको छ । जुन शालिक १९९७ अक्टोबर १७ तारिखमा निर्माण भएको थियो । अक्टोबर ९ लाई क्यूबाली सरकारले ‘हिरोइक गुरिल्ला डे’ का रुपमा भव्य समारोह गरी कमरेड चेको स्मृति दिवस बनाउँदै आएको छ । जुन दिन चेको निर्मम हत्या भएको थियो । त्यो भन्दा पनि ठूलो आज दुनियाँका श्रमजीवीहरुको मनमा सदा बास बस्ने अन्तर्राष्ट्रिय क्रान्तिका नायक बनेर कमरेड चे ग्वेभारा बाँचिरहेका छन् ।

 

स्रोत : विश्वकान्तिका नायक, राजेन्द्र महर्जन, अन्तरक्रिया प्रकाशन प्रा.लि. २०६०
वीकीपिडिया लगायत अन्य वेवसाइटहरु 

 

प्रतिक्रिया सबै