९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

२२ लाख रुपैयाँसहित पक्राउ परेका उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 आइतवार, अशोज २ २०७९  

काठमाडौं । साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपालले पाराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै बीबी एयरवेजबाट ६ लाख रुपैयाँ घुस लिएको अख्तियारले बताएको छ ।

अख्तियारले उनलाई साउन १७ गते काठमाडौं महानगरपालिका–१ मनकामना मार्गको होटल अरण्यको कम्पाउण्डबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । पछि उनले चढ्ने गाडीमा खानतलासी गर्दा १६ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो ।

अख्तियारले उनले ६ लाख रुपैयाँ घुस लिएको र बाँकी १६ लाख ५० हजार रुपैयाँ बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग सापटी लिएको बताएको छ ।

त्यस्तै अख्तियारले बीबी एयरवेजका सीईओ श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले काम गरिदिएवापत रकम सापटी दिनु भ्रष्टाचार मानिने अख्तियारको दावी छ । अख्तियारले उपसचिव नेपाल र बीबी एयरवेजका सीईओ श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया सबै