१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

श्रम मन्त्रालयले भन्यो- बेलायत जान चाहने नर्ससँग कसैले पैसा उठाए उजुरी दिनुस्

 सोमवार, अशोज १० २०७९  

काठमाडौं । श्रम मन्त्रालयले नर्सहरूलाई बेलायत पठाउने बहानामा कसैले पैसा असुल्न खोजे वैदेशिक रोजगार विभाग वा प्रहरीमा तुरून्तै ठगी मुद्दा दर्ता गराउन आग्रह गरेको छ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा जान चाहने नर्ससँग पैसा असुल्न खोजे तुरून्तै ठगी मुद्दा दर्ता गर्न श्रम मन्त्रालयले अपिल गरेको हो ।

श्रममन्त्री शेरबहादुर कुँवरले शून्य शुल्कमा दुई सरकारबीच भएको सम्झौतामा अन्य कुनै एजेन्सीको भूमिका नहुने भन्दै कसैले प्रलोभनमा पारेर पैसा असुल्न खोजे उजुरी गर्न आग्रह गरेका छन् । उनले कसैले बेलायतको सरकारी कोटामा पठाइदिने भनेर पैसा लिन खोजेमा त्यो सरासर ठगी रहेको बताएका छन् ।

सम्झौता कार्यान्वयनका निम्ति कार्यविधि बनाउने प्रक्रिया भइरहेको श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलको भनाई छ । यसमा तेस्रो पक्षको संलग्नता नहुने भन्दै कसैले पैसा लिन खोजे तुरून्तै विभागमा उजुरी दिन अनुरोध गरेका छन् । बेलायतमा ६ महिनाभित्र नेपालबाट जनशक्ति लैजाने बताएको थियो। पहिलो चरणमा सय जना लैजाने गरी तयारी भइरहेको श्रम मन्त्रालयले जनाएको छ ।

बेलायत आउन इच्छुक जनशक्तिसँग पैसा असुल्न काम विभिन्न एजेन्सीले गरेको रिपोर्ट बेलायती पत्रिका द गार्डियनमा प्रकाशित भएको थियो । उक्त रिपोर्टमा बेलायती श्रम विज्ञहरूले नेपाली नर्सहरू बेलायत आउनुअघि नै शोषणमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । विभिन्न बहानामा पैसा उठाउने क्रम नरोकिए नेपालबाट नर्स ल्याउने प्रक्रिया नै रोक्नु पर्ने उनीहरूको चेतावनी छ ।

बेलायतमा स्वास्थ्य जनशक्तिको अभाव पूर्तिका लागि त्यहाँको स्वास्थ्य विभाग व्यवस्थित र नैतिक तरिकाले जनशक्ति भर्तीको पक्षमा छ । नेपालसँग भएको सम्झौताअनुसार त्यस योजनामा बेलायत जान चाहने कामदारसँग कुनै पनि अतिरिक्त शुल्क असुल्न पाइने छैन ।

प्रतिक्रिया सबै