९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

चाडपर्व विशेष सुरक्षाका लागि देशभरका प्रहरी युनिटमा १९ बुँदे सर्कुलर

 सोमवार, अशोज १० २०७९  

काठमाडौं । चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी युनिटमा सर्कुलर जारी गरेको छ । देशभरका प्रहरी युनिटमा आपराधिक गतिविधि नियन्त्रण तथा निगरानीका लागि १९ बुँदे निर्देशनसहित परिपत्र गरेको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए ।

दसैँ, तिहार र छठपर्वको समयमा हुने उच्छृंखल क्रियाकलाप, राजमार्ग र सहायक मार्गहरुमा हुन सक्ने अवाञ्छित कार्यहरु लगायत विभिन्न आपराधिक गतिविधि नियन्त्रणका लागि निर्देशन दिइएको छ । सरकारी कार्यालय, महत्वपूर्ण प्रतिष्ठानहरुको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन पनि प्रहरी युनिटहरुलाई हेडक्वार्टरले निर्देशन दिएको छ ।

प्रवक्ता राईका अनुसार अत्यावश्यक उपभोग्य वस्तुहरुको सहज आपूर्ति व्यवस्थाका लागि पनि निगरानी बढाउन भनिएको छ । ‘चाडपर्वको मौका छोपी उद्योगपति, व्यापारीहरु, राजमार्गमा चल्ने सवारी साधानहरुबाट आर्थिक सहयोगको नाममा जबरजस्ती चन्दा संकलन चिट्ठा उपहार कार्यक्रम जस्ता गतिविधि हुन, गर्न नदिई त्रुटिरहित ढंगबाट सुरक्षा व्यवस्था मिलाउने तथा त्यस्ता किसिमका गतिविधिहरु गर्ने उपर कानुन बमोजिम कारबाही गर्ने । सर्वसाधारणहरुले बैंक तथा वित्तिय संस्थाहरुबाट रकम झिक्ने, सरसामान किनमेल गर्ने स्थानहरुमा हुन सक्ने चोरी, लुटपाट, ठगी र डकैती जस्ता घटनाहरु हुन सक्ने स्थानहरुमा निगरानी बढाई सुरक्षा व्यवस्था मिलाउने’, परिपत्रमा उल्लेख छ ।

बैंक तथा वित्तिय संस्थाहरुका सुरक्षागार्डहरुलाई सुरक्षा विधि र अपनाउनु पर्ने सावधानिका बारेमा अनुशिक्षण दिने, काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना बनाई मुख्य मुख्य स्थान, बैंक, व्यापारिक केन्द्र, बसपार्क, मल तथा सुपरमार्केट, मनोरन्जनस्थल लगायत चक्रपथ बाहिर हुनसक्ने चोरी, लुटपाट, ठगी र अन्य आपराधिक गतिविधिलाई प्रभावकारी नियन्त्रणको व्यवस्था मिलाउन परिपत्रमा भनिएको छ ।

यस्तै, बजारमा कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि जस्ता कार्यहरु हुन नदिने, लामो तथा छोटो दूरीका सवारीले यात्रुसँग बढी भाडा लिनसक्ने, क्षमताभन्दा बढी यात्रु राख्ने जस्ता गतिविधिमा रोक लगाउन भनिएको छ ।

राजमार्ग तथा सहायक राजमार्गमा चेकजाँचको व्यवस्था गर्न पनि प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ। अवैध मदिरा बिक्री वितरण, पटका र अतसबाजी, जुवातासलाई पनि निस्तेज गर्न भनिएको छ । सीमा क्षेत्रमा हुने तस्करी, लुटपाट, ठगी र डकैती जस्ता घटनामा सतर्कता बढाउन भनिएको छ। तीनवटै चाडबाडको समयममा सुरक्षा निकायका प्रमुखहरुलाई जिल्ला नछाड्न र सरकारी कार्यालयहरुमा भरपर्दो पालो पहरा मिलाउन निर्देशन छ।

बडा दसैँमा अधिकांश मान्छे घर छाडेर टिका थाप्न जाने र चोरी हुन सक्ने भएकाले सादा पोशाकमा समेत प्रहरी परिचालन गरी निगरानी तथा प्रहरी गस्ती बढाउन भनिएको छ । हिरासतमा रहेका कैदी, बन्दी, थुनुवाहरुले प्रहरी हिरासत कक्षमा आत्महत्या गर्ने सम्भावनालाई मध्यनजर गरी कानुनी रुपमा म्याद थप भएका वा हुने बाहेकलाई हिरासतमा नराख्न पनि हेडक्वार्टरको निर्देशन गरिएको छ ।

प्रतिक्रिया सबै