११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

धरानको खानेपानीको लागि ३ करोड बढीको योजना स्वीकृत

 शुक्रबार, अशोज १४ २०७९  

काठमाडौं । धराने जनताको खानेपानीको लागि गोर्खा वेलफेयर ट्रष्टले ३ करोड बढीको अनुदान रकम स्वीकृत गरेको छ । पूर्व ब्रिटिश आर्मीहरुको रेजिमेन्टल एशोसिएशन (नेपाल) पूर्वक्षेत्रको अनुरोधमा गोर्खा वेलफेयर ट्रष्टले २ लाख १२ हजार पाउण्ड (नेपाली रकम ३ करोड २९ लाख बराबर) खानेपानी योजनाको लागि अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो ।

धरानमा खानेपानी अभाव प्रमुख समस्या हो । हरेक निर्वाचनमा राजनीतिक दल तथा उम्मेद्वारहरुले चुनावी एजेण्डा खानेपानीलाई बनाउने गरे पनि अहिलेसम्म यसको समाधान हुन सकेको छैन । तर, गएको स्थानीय निर्वाचनमा धरानको मेयरमा निर्वाचित हर्क साम्पाङको नेतृत्वमा भने खानेपानीको समाधानका लागि निकै राम्रो कामहरु भइरहेको छ । कम्युनिष्ट गढ मानिएको धरानमा खानेपानीकै एजेण्डा बोकेर वर्तमान मेयर साम्पाङले गएको वैशाखमा चुनाव जितेका हुन् ।

मेयर साम्पाङले भूपू सैनिकहरुलाई खानेपानी समस्या हल गर्न अनुरोध गरेको कारण यसपाली एशोसिएशनमार्फत ट्रष्टलाई योजनाको लागि आग्रह गरिएको सिनियर वेलफेयर अफिसर पुर्ण लिम्बुको भनाई छ । ‘भुपुलाहुरेहरुको घना बसोबास भएको धरानमा खानेपानीको समस्याको लागि केही गर्ने सोच थियो । यसपाली प्रमुख ज्युले अनुरोध गर्नुभएपछि काम गर्ने अवसर पायौं,’ उनले भने ।

केही समयअघि ब्रिटिश गोर्खा नेपालका कमाण्डर कर्नेल पौल स्मिथमार्फत एशोसिएशनले ट्रष्टलाई खानेपानीको लागि सहयोग गर्न आग्रह गरिएको वेलफेयरले जनाएको छ । उक्त आग्रह पछि बोर्ड अफ ट्रष्टी डाइरेक्टरहरुको गत साता बैठक बसेर अनुदान स्वीकृत भएको जानकारी स्मिथमार्फत आएको एशोसिएशनका सचिव क्याप्टेन विष्णुकुमार राईले जानकारी दिए । उक्त अनुदान रकमले धरानको खानेपानी आपूर्तिको लागि आवश्यक संरचना निर्माणमा खर्च गर्ने उनले बताए ।

वेलफेयरले आपगाछी क्षेत्रमा पर्ने खर्दुबाट ३ वटा इन्टेक निर्माण हुनेछ भने एउटा कलेक्सन च्याम्बर पनि बनाइने जनाएको छ । यस्तै, २.८ किलोमिटर पाइपलाइन विस्तार गरिने ईञ्जिनियर एवं आर.डब्लु.एफ.ई.पि.पि.को पुर्वक्षेत्रीय कार्यालय प्रमुख कृष्णमान गुरुङले बताए ।

फुस्रेस्थित पानी प्रशोधन गर्ने प्रणालीको पनि क्षमता बढाइने उनले बताए । ‘यो योजना १२ महिनाको लागि होईन । बर्षामा पनि जंगलमा बोरिङ गरेर पम्पमार्फत पानी वितरण गर्दा विजुलीको धेरै खर्च भइरहेको छ, त्यो खर्च घटाउन यो योजनाले मद्दत गर्छ । कम्नीमा ५, ६ महिना सहजरुपमा सुद्ध पानी वितरण गर्ने लक्ष्य छ’, उनले भने ।

डिटेल सर्वे, डिजाइनलगायतको काम एक महिनाभित्र पुरा हुनेछ भने निर्माण कार्य ६ महिनाभित्र सम्पन्न हुने वेलफेयरले जनाएको छ । यसबाहेक भूपू सैनिकहरुकै पहलमा अहिले निशाने सर्दु दोभानमा अढाई लाख लिटरको खानेपानी रिजर्ब ट्यांकी पनि निर्माण भइरहेको छ ।

गोर्खा पिस फाउण्डेशन र हर्क साम्पाङ सपोर्ट कमिटी युकेको आर्थिक सहयोगमा उक्त ट्यांकी निर्माण भइरहेको हो । धरानमा ४३ हजार ८१५ परिवार बसोबास रहेको छ भने जनसंख्या १ लाख ७३ हजार छ । तीमध्ये गोर्खा पेन्सनरहरुको संख्या ३ हजार ४ सय रहेको वेलफेयरले जनाएको छ । अधिकांश भूपू लाहुरे तथा परिवारहरु बेलायत, हङकङ गएका छन् ।

धरानमा दैनिक पानीको माग २३ एमएलडी छ । मनसुनमा सतहको स्रोतको क्षमता १६ एमएलडी रहेको छ भने सुक्खा याममा मात्र ४.५ एमएलडि रहेको छ । चारकोशे जंगलमा रहेको १० वटा बोरिङबाट १७.४४ एमएलडी पानी उत्पादन हुने गर्छ । तर, यसको लागि प्रतिमहिना ३५ लाख हाराहारी विजुलीमा मात्र खर्च हुने गरेको छ ।

यो पनि

हर्क साम्पाङप्रति जनताको सुभेच्छा- तपाई ‘प्रधानमन्त्री’ भएको देख्न मन छ !

प्रतिक्रिया सबै