९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

कहाँ हराइन् गायिका जेरुसा ?

 बिहिबार, कार्तिक ३ २०७९  

काठमाडौं । गायिका जेरुसा राई अझै बेपत्ता छन् । ललितपुर धोबीघाटस्थित घरबाट गत असोज ६ गते साँझ साढे ७ बजेदेखि उनको अवस्था अझै अज्ञात छ ।

३१ वर्षीया गायिका जेरुसा गत असार २७ गते अमेरिकाबाट नेपाल फर्केर धोबीघाटमा आमासँग बस्दै आएकी थिइन् । उनले गाएको थुप्रै गीतहरु युट्युमा देख्न सकिन्छ । छोरी घर नफर्किएपछि उनकी आमा इश्का घिमिरेले खोजी गरिदिन भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन् । सो जाहेरीपछि उनको खोजी कार्य जारी छ । तर, उनी भेटिएकी छैनन् ।

ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले प्रहरीको प्राविधिक अनुसन्धानबाट जेरुसाबारे केही अनुमान लगाउने तथ्य भेटिए पनि यसै भन्न नसकिने अवस्था रहेको बताए ।

आफूले प्रयोग गर्ने मोबाइल घरमै छाडेकी जेरुसाले मोबाइलसँगै उनले लेखेको ‘नोट’ पनि फेला परेको थियो । ‘नोट’ अंग्रेजी भाषामा लेखिएको र त्यसमा आमाबुवालाई धन्यवाद लेखिएको पाइएको प्रहरीको भनाई छ । एसएसपी पोखरेलले नोट’को अन्तिममा वाग्मती खोला लेखिएको बताए ।

प्रहरी अनुसन्धानबाट पनि उनी त्रिभुवन विश्वविद्यालयको मुख्य गेट अगाडि वाग्मती नदीमा रहेको झोलुङ्गे पुलसम्म पुगेको अनुसन्धानबाट खुलेको एसएसपी पोखरेलको भनाई छ ।

खोजीका लागि सबै ठाउँमा हुलियासहित पत्राचार गरिसकेका र उनी बैरागिएर घरबाट हिँडेकोजस्तो देखिएको एसएसपी पोखरेलको भनाई छ । ‘शरीर फेला नपर्दासम्म केही भन्न सक्दैनौँ । उहाँको रोजाइ नै मृत्यु हो कि जस्तो लाग्छ । तर, शरीर नभेटिँदासम्म अनुमान लगाउन सकिन्न’, एसएसपी पोखरेलले भने ।

प्रहरीका अनुसार घरबाट गएकै राति ८ बजे आसपासको समयमा उनी वाग्मती नदी क्षेत्रमा देखिएकी हुन् । मोबाइल फेला परेपछि प्रहरीले प्राविधिक पाटोबाट पनि अनुसन्धान गरेको थियो । सो क्रममा प्रहरीले जेरुसाले ‘गुगल’मा पानीमा डुबेर मर्ने तरिका खोजेको पाइएको जनाएको छ ।

प्रतिक्रिया सबै