९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

नेपालका लागि मैले र प्रचण्डले बनाएको धार नै उपयुक्तः बाबुराम भट्टराई

 शुक्रबार, कार्तिक ४ २०७९  

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनैपनि हालतमा सह्य नहुने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रम उनले विगतमा पराजित भएका प्रतिगामी शक्तिहरु अहिले विभिन्न बहानामा जुर्मुराइरहेको भन्दै लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताए । निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा भएको उनले जिकिर गरे ।

आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरुलाई निस्तेज पार्नुको कुनै विकल्प नभएको बताउँदै उनले देशमा विकास र समृद्धि, सुशासन दिन नसक्दा युवाहरुमा निराशा छाएको, शीर्ष तहले यसको उचित सम्बोधन गर्न जरुरी रहेको बताए ।

उनले आगामी निर्वाचन गठबन्धन दललाई कुनै पनि हालतमा जिताउनै पर्ने भन्दै देशका लागि आगामी ५ वर्ष स्थिरता र असन्तोषलाई पूरा गर्ने समय भएको बताए । उनले नेकपा एमालेप्रति लक्षित गर्दै केशरजंग रायमाझी धार बोकेका शक्तिहरुले पुराना सामन्तवादी शक्तिहरुसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानामाना बुनिरहेको बताए ।

पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र आफूले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त धार रहेको उनको भनाई थियो ।

प्रतिक्रिया सबै