११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

सन्दीप पुर्पक्षका लागि जेल जाने सम्भावना

 आइतवार, कार्तिक १३ २०७९  

काठमाडौं । एक नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले सरकारी वकिलसँगको बयानका क्रममा आफूमाथिको आरोप अस्वीकार गरेका छन् । आफूविरुद्ध जाहेरी दिनेकै आग्रहमा होटेलमा बसेको र यौनजन्य कार्य नगरेको दाबी गरेका हुन् ।

भदौ ५ गतेको होटेल काठमाडौं इनको सीसीटीभी फुटेज रिपोर्टसँगै होटेलका कर्मचारीको बयान पनि अभियोजनपत्रमा उल्लेख छ । पीडितको बयान, मेडिकल जाँच पनि अभियोजनपत्रमा समावेश छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार सन्दीपले प्रयोग गरेको सामाजिक सञ्जालका च्याटहरू पनि ‘रिकभर’ भएको छ ।

सन्दीपविरुद्धको अभियोजनपत्र सोमबार (भोलि) जिल्ला अदालत काठमाडौंमा दायर गरिँदैछ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी वृत्त गौशालाको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोजनपत्र दायर गर्नेछन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार प्रहरी प्रतिवेदनमा नाबालिग बलात्कारसम्बन्धी कानुनानुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको हो ।

मुलुकी अपराध संहिता, २०७४ मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलाको जबरजस्ती करणी गर्ने व्यक्तिलाई परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ । यसबाहेक पीडितलाई उचित क्षतिपूर्तिको माग पनि गरिएको छ ।

अभियोजनपत्र दायर भएपछि अदालतमा सन्दीपको बयान हुनेछ । त्यसपछि थुनछेक बहस हुनेछ । अदालतले उनलाई तारेखमा छाड्ने वा पुर्पक्षका लागि जेल पठाउने भन्नेबारे आदेश दिनेछ । यो प्रक्रिया आउँदो मंगलबारसम्म सकिनेछ ।

ती नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा सन्दीपले भदौ ५ गते राति पिंगलास्थानको ‘होटेल काठमाडौं इन’मा लगेर बलात्कार गरेको उल्लेख छ ।

सो होटेलको सीसीटीभी फुटेजमा त्यस दिन सन्दीप ती किशोरीसँगै प्रवेश गरेको र भोलिपल्ट बाहिरिएको देखिएका छन् । सोही प्रमाणका आधारमा पनि सन्दीप पुर्पक्षका लागि जेल जाने सम्भावना बढी भएको प्रहरी र सरकारी वकिलहरूको भनाई छ । पुर्पक्षका लागि थुनामा गए पनि अदालतको अन्य प्रक्रिया अगाडि बढ्नेछ ।

सन्दीप नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न भदौ ६ गते केन्या गएका थिए । केन्याबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी जमैका गएका थिए । जाहेरी परेको एक महिनापछि उनी नेपाल आएका थिए । सोही क्रममा असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरी अनुसन्धानका क्रममा उनी अमेरिकाबाट नेपाल आएको खुलेको थियो ।

प्रतिक्रिया सबै