९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी

 मङ्लबार, मंसिर ६ २०७९  

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् ।

मिश्रले सात हजार ११ मत ल्याएका छन् । अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए ।

प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आएका छन् । सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गर्नुभएका सिंह नेपाली कांग्रेसको काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

कांग्रेसका शीर्ष नेतामध्येका एक सिंह तत्कालीन सुशील कोइरालाको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री भएका थिए ।

विसं २०१२ मा काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका सिंहले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । सिंह २०३६ सालमा नेपाल विद्यार्थी सङ्घको सभापति हुँदै केन्द्रीय राजनीतिमा सक्रिय भूमिकामा रहे । सरल व्यक्तित्व भएका सिंह आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खटिएर जनताको सुख दुःखमा साथ दिने नेतामा पर्छन् ।

प्रतिक्रिया सबै