९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

प्रचण्डलाई ओलीको फोन : कम्युनिस्ट आन्दोलन शिथिल पार्ने प्रयास भइरहेको छ !

 बिहिबार, मंसिर ८ २०७९  

काठमाडौं । यतिबेला चुनावको नतिजा आउने क्रम अन्ति चरणमा पुगेको छ । यसबीच तीन शीर्ष नेताको टेलिफोन संवाद भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई देउवा र ओलीको बेग्ला बेग्लै समयमा फोन गरेको प्रचण्डको सचिवालयले जनाएको हो ।

‘केपी कमरेडले सिएमलाई दिउँसो फोन गर्नुभयो । एक आपसमा बधाई साटासाट भयो । केपी कमरेडले विगतमा जे जस्तो भएपनि अब समीक्षा गरेर मिलेर जान प्रस्ताव गर्नुभयो । सिएमले गठबन्धनको नतिजा सबै आइसकेको छैन । त्यसपछि मात्रै कुरा गरौंला भन्नुभयो । अरु केपी कमरेडले मिलेर जान राखेको प्रस्तावका विषयमा सिएमले कुनै जवाफ दिनुभएन’, प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ, अब बसेर कुरा गरौं । हामीलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रिय नै छन् ।’

यस्तै प्रधानमन्त्री देउवा र प्रचण्डवीच समेत बधाई साटासाट भएको प्रचण्डको सचिवालयले जनाएको छ । चुनावको सबै नतिजा आएपछि गठबन्धनलाई अझ बलियो बनाएर लग्ने विषयमा प्रचण्ड र देउवाबीच कुराकानी भएको बताइएको छ ।

नेकपा विभाजनपछि एमाले अध्यक्ष र माओवादी केन्दञ्का अध्यक्षहरुबीच दोहोरो संवाद भएको थिएन । एकअर्काविरुद्ध वाकयुद्ध तीव्र पारेका थिए । चुनाव नतिजा आइनसक्दै दुई शीर्ष नेताहरुबीच संवाद भएको हो ।

स्रोतका अनुसार प्रचण्डले अरु कसैले टाढा पारेको नभई ओलीको विगतको कार्यशैली जिम्मेवार रहेको टिप्पणी गरेका थिए । उनले बसेर कुरा गर्न समस्या नभएको भन्दै अगाडिको बाटोबारे चाहिँ समीक्षा गर्नुपर्ने बताएका थिए ।

ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले पनि प्रचण्डसँग फोनमा कुरा भएको बताए । ‘बधाई साटासाट भयो, यसपछि कसरी जाने भन्नेबारे चुनावी नतिजा हेरिसकेपछि छलफल हुनसक्छ भनेर प्रचण्डले भन्नुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुधबार साँझ फोन गरेर बधाई दिएको बज्राचार्यको भनाई छ ।

प्रचण्डले ओलीलाई चुनावमा सोचेभन्दा राम्रो नतिजा निकालेको भन्दै प्रशंसा पनि गरेका थिए । ओलीले कम्युनिस्ट आन्दोलन शिथिल पार्नका लागि अराजनीतिक समूहलाई अघि बढाउने कोशिस भइरहेको भन्दै ध्यानपूर्वक सोच्नुपर्ने बताएका थिए । बिहीबार ओलीले झापा पुगेर देशमा नयाँ राजनीतिक शक्तिको उदय भनेर प्रोपागान्डा मच्चाइएको भन्दै असन्तुष्टि पनि जनाएका थिए ।

स्रोतका अनुसार एमाले उपाध्यक्ष सुवास नेम्वाङ लगायत नेताले पनि प्रचण्डलाई फोन गरी बधाई दिएका छन् । उनीहरुले मिलेर अघि बढ्नु उचित हुने भन्दै नतिजा आइसकेपछि बसेर छलफल गर्न सुझाव दिएका हुन् ।

 

प्रतिक्रिया सबै