८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

जीवनमा नयाँपन कसरी ल्याउने ?

 आइतवार, मंसिर २५ २०७९  

काठमाडौं । मानविय स्वभाव हो, नयाँ कुरा खोज्ने । हरेक चिजमा नयाँपन खोज्ने । तर, हामी आफ्नो जीवनशैली वा जीवन जिउने शैली नयाँ ढंगबाट गर्न चाहिरहेका हुँदैनौ ।

पुरानै शैली र ढर्रालाई निरन्तरता दिन्छौ । त्यही ओछ्यानमा सुत्छौ, त्यही खाना खान्छौ, त्यही गीत सुन्छौ, त्यही काम गर्छौ, त्यही मान्छेहरु भेट्छौ, त्यही ठाउँमा खाजा खान जान्छौ, त्यही गाडी चढ्छौ, त्यही बाटो हिँड्छौ । हामी एकोहोरिएका छौ । हामी एउटै शैलीभन्दा बाहिर आउन सकेका छैनौ । यही कारण हामीलाई आफ्नै दिनचर्या पनि दिक्कलाग्दो हुन्छ ।

सामान्य कुरा, आज तपाईंको दिनचर्या केही बदल्नुहोस् । ओछ्यान बदल्नुहोस् । खानेकुरा बदल्नुहोस् । कामलाई पनि अलि नयाँ ढंगले गर्नुहोस् । नयाँ साथीहरुसँग भेट्नुहोस् । नयाँ काम गर्नुहोस् । नयाँ कुरा गर्नुहोस् । सोंच र चिन्तन पनि नयाँ बनाउनुहोस् ।

अर्थात आजसम्म गर्दैर् आएका ढर्रा परिवर्तन गर्नुहोस् । आजसम्म अपनाउँदै आएको शैली केही बदल्नुहोस् । पहिरनमा, खानामा, काममा नयाँपन खोज्नुहोस् । तपाईंले पक्कै जीवनमा नयाँपन अनुभूत गर्नुहुनेछ । जीवन तपाईंलाई नयाँ लाग्नेछ । रसपूर्ण पनि ।

हिजोसम्म दालभात खानुभयो, आज खानेकुरा थोरै बदल्नुहोस् । भान्सामै नयाँ प्रयोग गर्नुहोस् । पहिरनमा पनि केही फेरबदल गर्नुहोस् । हिजो जसरी तपाईं आप्नो कार्यथलो पुग्नुभएको थियो त्यो भन्दा फरक बाटो अपनाउनुहोस् वा फरक साधन अपनाउनुहोस् । हिजो आफ्नो मोटरसाइकल, कारमा जानुभएको थियो, आज हिँड्नुहोस् । सार्वजनिक यातायात चढ्नुहोस् ।

हिजो जसरी काम गर्नुभएको थियो, त्यसलाई छाड्नुहोस् । आज नयाँ ढंगले काम गर्नुहोस् । यसरी गर्नुहोस्, मानौ तपाईंले त्यो पेशा(व्यवसाय पहिलो पटक गर्दै हुनुहुन्छ । यसले तपाईंमा बेग्लै फुर्ती, जोश, जाँगर पैदा गर्छ ।

चिया नास्ता हिजोको भन्दा आज फरक होस् । हिजो जहाँ नास्ता गर्नुभयो, त्यहाँ नजानुहोस् । हिजो जे नास्ता गर्नुभयो, त्यो आज नगर्नुहोस् । आज भेट्ने साथीहरु पनि पुराना नहोस् । नयाँ साथीहरु भेट्नुहोस् । नयाँ ठाउँमा जानुहोस् ।

आफनो योजना र सोंचलाई पनि केही बदल्नुहोस् । जुन लक्ष्य र योजना छ, त्यसलाई नयाँ ढंगबाट पुरा गर्ने सोंच बनाउनुहोस् । यसले तपाईं केही नयाँपन अनुभूत गर्नुहुनेछ । भिन्न किसिमको कौतुहलता, उत्साह, उर्जा र उमंग मिल्नेछ ।

सँधै भलाद्मी मात्र देखिने प्रयास नगर्नुहोस् । सधै गंभिर मात्र नबन्नुहोस् । सधै भावुक मात्र नबन्नुहोस् । मनलाई नियन्त्रण गरेर मात्र नराख्नुहोस् । बेलाबखत उटपट्याङ पनि गर्नुहोस् । यद्यपी यसले अरुलाई हानी, नोक्सानी हुनुभएन । अरुको अपमान हुनु भएन । केवल ख्यालठट्टा र रमाइलोका लागि मात्र होस् ।

घरमा होस् वा कार्यलयमा, आफ्ना सहपाठीमाझ केही उटपट्याङ गर्नुहोस् । परिचित मात्र होइन, अपरिचितमाझ पनि केही उटपट्याङ गर्न सकिन्छ । जीवन भनेको रमाइलो पनि हो । मनोरञ्जन पनि हो । यसले जीवनमा केही नयाँपनको अनुभूत गराउँछ । यो समागी अनलाईनखबरबाट साभार गरेका हौँ ।

प्रतिक्रिया सबै