१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

लोप हुन थालेका चितुवा भेटिन थाले

 आइतवार, पुस ३ २०७९  

काठमाडौं । लोप हुन थालेका चितुवा भेटिन थालेका छन् । दुर्लभ हुँदै गएका चितुवा कालीकोटका विभिन्न ठाउँमा देखिन थालेका हुन् । चोरी सिकारी, बासस्थानको अभावका कारण नहुँदा लोप हुने अवस्थामा पुगेका चितुवा अहिले छिटपुट रुपमा कालीकोटका जङ्गलमा देखिन थालेका हुन् ।

जङ्गली क्षेत्रमा चिसो बढ्दै गएका कारणले उनीहरु अहिले बस्ती आपसासमा देखिन थालेको हो । गत शुक्रबार बेलुका ६.१५ बजे कर्णाली करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-२ को कोट खर्कमा चितुवा भेटिएको थियो ।

मोटरसाइकलमा सवार रहेका बेलामा कर्णाली करिडोर हुँदै सान्नी त्रिवेणी गाउँपालिका-९ डाँफे माध्यमिक विद्यालयका प्रधानध्यापक हीरामणी सिम्खडाले चितुवा देखिएको बताए ।

चितुवा भेटिएको ठाउँ अलि फरक खालको भएकाले आफू अचम्मित भएको प्रधानाध्यापक सिम्खडाको भनाइ छ ।

विगतमा चितुवाले भेडाबाख्रा, गाईभैँसीलाई गोठमा नै आएर आफ्नो आहारा बनाउने गरेकोमा करिब १५/२० वर्ष यता चितुवाले यस क्षेत्रमा दुःख दिएको थिएन । तर अहिले गाउँमा दुई वटा बाख्रा र एउटा गाई मारेको नरहरिनाथ गाउँपालिका–९ लालुका ६२ वर्षीया पदमबहादुर शाहीको भनाई छ ।

डिभिजन वन कार्यालय कालीकोटका प्रमुख रमेशकुमार गिरीका अनुसरा कालीकोट जिल्लामा यसभन्दा अघि कतै नदेखिएको चितुवा अहिले केही ठाउँमा देखिएको सुन्नमा आएको छ ।

प्रतिक्रिया सबै