१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

बागबजार क्षेत्रका व्यवसायी आन्दोलित

 सोमवार, पुस ४ २०७९  

काठमाडौं । सडक किनारमा पार्किङ गर्न नदिएको विरोधमा बागबजार क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडक किनारमा मोटरसाइकल र गाडी पार्किङ गर्न नदिएपछि उनीहरुले आन्दोलन गरेका हुन् ।

महानगरले विकल्प नदिई सडक किनारमा पार्किङ गर्न रोक लगाउनु बेठीक भएको भन्दै उनीहरुले आफुहरुलाई विकल्प दिनुपर्ने बताएका छन् । सडक किनारमा पार्किङ गर्न नपाए आफूहरु व्यवसाय छाड्ने अवस्था आउने उनीहरु बताउँछन् ।

‘हामी घरबहाल कर तिर्छौं, व्यवासाय कर तिर्छौं, तर हाम्रो सवारी साधन कहाँ राख्ने ?’, आन्दोलनमा सहभागी एक व्यापारीले भने । उनीहरूले पार्किङ माग गर्दै बागबजार क्षेत्रका सडकमा प्रदर्शन गरेका थिए ।

महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले भने निजी निवास अगाडि पार्किङ गर्नपनि नक्शा पास गर्नुपर्ने बताएका छन् । महानगरपालिकाले आइतबार अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन उठाएको थियो । सो क्रममा निजी जग्गामा समेत पार्किङका लागि नक्शा पास गरेको हुनुपर्ने बताएका हुन् ।

बिहान महानगरले अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन उठाएपछि स्थानीयले प्रतिवाद गरेका थिए। निजी जग्गामा पार्किङ गरिएको सवारी उठाएको भन्दै स्थानीयले नियम विपरित काम नगर्न महानरका प्रतिनिधिलाई आग्रह गरेका थिए । महानगरले निजी जग्गामा पार्किङ गरिएको सवारी उठाउँदा अनामनगर क्षेत्र केही बेर तनाबग्रस्त बनेको थियो ।

काठमाडौंका कुनैपनि निजी निवास अगाडि छोडिएको खालि ठाउँमा पार्किङ गर्न पनि पार्किङको छुट्टै नक्शा पास गरेको देखाउनु पर्ने पाण्डेको दाबी छ । नगरप्रहरी प्रमुख पाण्डेको अभिव्यक्तिपछि सर्वसाधारणहरु आक्रोशित बनेका थिए ।

हेर्नहोस् तस्वीरहरु

तस्विर : विजय कालिकोटे

प्रतिक्रिया सबै